सडक निर्माणको सूचना सार्वजनिक नगर्दा यात्रु समस्यामा

मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका प्रमुख रमेश चौधरीले लामो समय सडक बन्द हुँदा सार्वजनिक सूचना निकाल्ने गरेको बताए । तर, सडकमा सानोतिनो काम हुँदा बन्द भएको सूचना ननिकालिएको उनले स्विकारे ।

मंसिर १६, २०८२

सन्तोष महतारा

Passengers face problems as road construction notices are not made public

What you should know

गुल्मी — वैकल्पिक सडक वा चोकमा सडक निर्माणको काम चलिरहेको सूचना नहुँदा सवारीले अर्को वैकल्पिक सडक प्रयोग गर्न वा सडक बन्द रहेको मनस्थितिमा यात्रा गर्न पाउँदैनन् । जसका कारण सवार यात्रुहरूलाई पर्खाइको मात्र होइन, गन्तव्यमा पुग्नुपर्ने समयको समेत समस्या हुँदै आएको छ ।

जिल्लाको मदन भण्डारी राजमार्गअन्तर्गत रिडी-तम्घास खण्डको धेरै भागमा काम चलिरहेको छ । केही ठाउँमा सानातिना काम चलिरहेका हुन्छन् । त्यसका लागि छुट्टै सूचना बोर्ड भने छैन । सवारी धेरै मात्रामा रोकिएपछि बल्ल सडक खुलाउने प्रचलन छ ।

यस खण्डमा रिडीदेखि रुन्खादहसम्म अधिकांश ठाउँमा सडक कालोपत्र भइसकेको छ । बीचबीचका धेरै ठाउँमा भने निर्माणाधीन अवस्थामै सडक छ । जसका कारण बिना सूचना काम चलिरहँदा आफ्नै गतिमा दौडिरहेका सवारी र गन्तव्यमा पुग्ने यात्रुहरू १५ मिनेटदेखि आधा घण्टा भन्दा बढी समय रोकिनुपर्छ ।

जिल्लाभरमा निर्माणाधीन सडकमा सवारी साधन रोकिनुपर्ने समस्या सामान्य भए पनि बिना सूचना रोकिनुपर्दा अप्ठ्यारो हुने सवारी चालक सागर फुल्देलले बताए । 'सडक बनिरहेको छ, हामीले त्यस्तो अन्यथा लिँदैनौं,' उनले भने, 'सूचना जारी भयो भने भएको ठाउँमा वैकल्पिक सडक र नभएको ठाउँमा त्यस्तै खाले मनस्थितिको यात्रा हुने थियो ।' यस खण्डमा सानातिना काम चलिरहेको ५/७ ठाउँमा बिना सूचना समय-समयमा रोकिनुपर्ने बाध्यता छ । 

यति मात्रै होइन, जिल्लाका प्रायः सडक कटिङ, चौडा, ग्राभेल, नाली निर्माण, ढलान र कालोपत्र गर्ने कामले निर्माणाधीन अवस्थामा नै छन् । जसमध्ये अधिकांश सडकमा बिना सूचना काम चलिरहेको हुन्छ । जसका कारण विभिन्न समस्या हुने गर्दछन् । मदन भण्डारी राजमार्ग गुल्मी खण्ड, कालीगण्डकी करिडोर गुल्मी खण्ड, रुद्रवेणी-वामी खण्ड, रिडी-खर्ज्याङ-सिमिचौर-तम्घास खण्ड र तम्घास-छ्ल्दी-इन्द्रेगौंडा खण्ड सहितका मुख्य खण्डका साथै भित्री ग्रामीण सडकमा समेत काम चलिरहेको छ । जसमा यस्तै समस्या आउने गरेको छ ।

मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका प्रमुख रमेश चौधरीले लामो समय सडक बन्द हुँदा सार्वजनिक सूचना नै निकाल्ने गरेको बताए । तर, सडकमा सानोतिनो काम हुँदा बन्द भएको सूचना ननिकालिएको उनले स्विकार गरे । 'अगाडि काम हुने कुरा बोर्ड बनाएर चोकमा राख्न व्यवसायीलाई भनेकै हुन्छौं,' उनले भने, 'त्यस्तो नभएर यात्रामा कठिनाइ भएको ठाउँमा हामी राख्न सूचना लगाउँछौं ।' जानकारी नगराई छोटो समय भए पनि नरोकिने गरी सूचना राख्न पुनः अनुरोध गर्ने उनले बताए ।

सन्तोष

Link copied successfully