मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको गौंडाकोट–तम्घास खण्ड साँघुरो र घुम्ती अप्ठ्यारा छन् । दुर्घटना न्यूनीकरणका लागि सडक छेउमा सडक ऐना राखिए पनि अहिले भने नामोनिसाना छैन ।
What you should know
गुल्मी — रेसुंगा नगरपालिका–८ का परमानन्द भण्डारी आफ्नै घरअगाडिको सडक ऐना हराउँदा चिन्तित छन् । घुम्तीजस्तै सडकका कारण दुर्घटना कम गर्न सडक ऐना राखिए पनि अहिले उक्त ऐना नहुँदा दुर्घटनाको जोखिम बढेको उनले बताए । ‘आउजाउ गर्ने गाडीहरू ऐनामा देखिन्थे अनि बिस्तारै आउँथे,’ उनले भने, ‘अहिले ऐना छैन, नजिकै आएर बेस्सरी ब्रेक हान्छन् ।’
स्कुटर चालक रूपा खत्री यो सडकमा आफू धेरै मात्रामा हिँड्ने बताउँदै सडक ऐना फुटेपछि डर लाग्ने अवस्था रहेको गुनासो गर्छिन् । ‘यो बाटोमा राखिएको ऐनाले निकै सहज भएको थियो,’ उनले भनिन्, ‘संरचना बनाउने तर संरक्षण नगर्नु समस्या हो ।’ कसैले संरक्षण गर्न नचाहेको उनको भनाइ छ ।
रेसुंगा नगरपालिका–१३ का डिलबहादुर खत्री ऐना फुटाएर अहिले ऐना अडाउने पोल मात्रै भएको गुनासो गर्छन् । ‘खोइ कसले फुटाउँछ अनि कसले लैजान्छ ? घरमा कसलाई पो काम लाग्छ !,’ उनले भने, ‘दुर्घटना कम गर्न त फेरि ऐना राख्न पर्छ ।’ उनले घुम्तीमा ऐना भएमा सवारी साधन ढुक्कसँग चल्ने बताए ।
यी मात्रै होइन, यो खण्डमा सानाठूला गरी दैनिक एक सयभन्दा बढी सवारी साधन आवतजावत गर्छन् । जसमा सयौं यात्रु यात्रा गर्छन् । यो खण्डमा दोहोरो गाडी चल्ने सडक बिरलै भेटिन्छ । जहाँ दुर्घटनाको जोखिम पनि उस्तै छ । घुम्तीमा ठूलो दुर्घटना नभए पनि सवारी ठोक्किने र सामान्य क्षति भने भइरहन्छ ।
मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको गौंडाकोट–तम्घास खण्ड साँघुरो र घुम्ती अप्ठ्यारा छन् । दुर्घटना न्यूनीकरणका लागि सडक छेउमा सडक ऐना राखिए पनि अहिले भने नामोनिसाना छैन ।
सडक डिभिजन कार्यालय पाल्पाले आर्थिक वर्ष २०७२/७३ मा १४ स्थानमा ३ लाख ९२ हजार रूपैयाँ लगानीमा सडक ऐना राखेको थियो । तर, ती सडक ऐना केही उतिबेला नै हराएर गए भने केही एक/दुई वर्षसम्म टिके पनि पछि अस्तव्यस्त बनेका छन् ।
अहिले यो सडक खण्ड मदन भण्डारी राजमार्ग भए पनि हस्तान्तरण नहुँदासम्म रेखदेख भने सडक डिभिजन कार्यालय पाल्पाले नै गरिरहेको छ । सडक चौडा हुँदै आएकाले अब सडक ऐना राख्ने कार्यक्रम भने छैन । यद्यपि, सडक चौडा भने रिडीदेखि वीरवाससम्म भए पनि यता गौंडाकोटदेखि तम्घास खण्डको भने कुनै टुङ्गो छैन ।
मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका प्रमुख सिनियर डिभिजन इन्जिनियर रमेश चौधरीले गौंडाकोट–तम्घास खण्डमा ठेक्का नभएकाले अहिले यस कार्यालयअन्तर्गत नआएको बताए । उनले यस सडकमा अहिले आफूहरूको कुनै कार्यक्रम नरहेको पनि बताए ।
सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी इन्जिनियर दुर्गा गौतमले पहिलेका सडक ऐना नभए पनि अहिले सडक ऐना राख्ने कार्यक्रम नभएको बताए । उनले अब बिस्तारै सडक ठेक्का भएर मदन भण्डारी राजमार्गअन्तर्गत जाने भन्दै सडक चौडा भएपछि सडक ऐना राख्न जरुरी नहुने बताए ।
गुल्मीमा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले दुर्घटना न्यूनीकरण गर्न साँघुरो सडकमा सडक ऐना हुनु निकै राम्रो भएकाले दुवै कार्यालयसँग छलफल गरेर पहल गर्ने बताए । उनले आफ्ना तर्फबाट समन्वय हुने पनि बताए ।
