रोल्पामा दुर्घटनामा परी एमाले नेताको मृत्यु

पूर्वशिक्षिकासमेत रहेकी ४७ वर्षीया घर्ती आफन्तले चलाएको मोटरसाइकलबाट स्थानीय मिनाही बजारबाट आफ्नो घर हान्निङतर्फ जाने क्रममा थिइन् ।

मंसिर ११, २०८२

काशीराम डाँगी

UML leader dies in accident in Rolpa

रोल्पा — रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एमाले जिल्ला नेताको मृत्यु भएको छ । प्रहरीले बुधबार दिउँसो माडी गाउँपालिका-६ कोर्चाबाङ निवासी एमाले जिल्ला जिल्ला सदस्य अमृता घर्तीको मृत्यु भएको जनाएको छ ।

पूर्वशिक्षिकासमेत रहेकी ४७ वर्षीया घर्ती आफन्तले चलाएको मोटरसाइकलबाट स्थानीय मिनाही बजारबाट आफ्नो घर हान्निङतर्फ जाने क्रममा थिइन् । मिनाही नजिकै मोटरसाइकल दुर्घटनामा परेपछि नेतृ घर्ती सडकदेखि करिब २ सय मिटर मुनि खस्न पुगेकी थिइन् । उनको मृत्यु घटनास्थलमै भएको प्रहरीले जनाएको छ । सहिदमार्गअन्तर्गत मोटरसाइकल दुर्घटनामा परेको हो ।

अमृता पुनथोक गाउँमा बिहे भोजमा पुगेर फर्कने क्रममा दुर्घटनामा परेको अमृताका श्रीमान् एमाले लुम्बिनी प्रदेशका सदस्य प्रेमबहादुर घर्तीले बताए । दुर्घटनापछि सामान्य घाइते रहेका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने शव जिल्ला अस्पताल रोल्पामा बिहीबार पोस्टमार्टम गरेर मगर संस्कारअनुसार बिहीबार नै आफ्नो गाउँ कोर्चाबाङमा दाहसंस्कार गरिएको छ । 

एमाले जिल्ला अध्यक्ष अमृतबहादुर बुढाले विज्ञप्ति जारी गर्दै अमृताको मृत्युबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

शिक्षणबाट बिदा लिएपछि अमृता राजनीतिक गतिविधिमा सक्रिय थिइन् ।

काशीराम डाँगी डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully