कृषि र औद्योगिक क्षेत्रमा सहकार्यका लागि इजरायली राजदूतसमक्ष आग्रह

बिहीबार सिद्धार्थ उद्योग वाणिज्य संघको कार्यालय अवलोकनमा आएका राजदूतसित उद्योगी–व्यवसायीले यस्तो आग्रह गरेका हुन् । राजदूत बास र संघका पदाधिकारीबीच अन्तरक्रियामा दुई मुलुकबीच ज्ञान, सीप र प्रविधि आदानप्रदान गर्न सकिने औंल्याइएको छ ।

मंसिर ११, २०८२

दीपेन्द्र बडुवाल

Request to Israeli Ambassador for cooperation in agriculture and industry

What you should know

भैरहवा — रुपन्देहीमा कृषि र औद्योगिक क्षेत्रमा लगानीका प्रशस्त सम्भावना रहेको जनाउँदै भैरहवाका उद्योगी–व्यवसायीले सहकार्यका लागि नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बाससित आग्रह गरेका छन् । 

बिहीबार सिद्धार्थ उद्योग वाणिज्य संघको कार्यालय अवलोकनमा आएका राजदूतसित उद्योगी–व्यवसायीले यस्तो आग्रह गरेका हुन् । राजदूत बास र संघका पदाधिकारीबीच अन्तरक्रियामा दुई मुलुकबीच ज्ञान, सीप र प्रविधि आदानप्रदान गर्न सकिने औंल्याइएको छ । 

संघको कार्यालयमा आएका राजदूतले नेपाल र इजरायलबीच ६५ वर्ष पूरानो कूटनीतिक सम्बन्ध रहेको जनाए । दुई मुलुकबीच सम्बन्ध प्रगाढ बनाउन स्वर्गीय विशेश्वरप्रसाद कोइरालाले महत्वपूर्ण भूमिका खेलेको राजदूत बासले स्मरण गरे ।

सुरुमा नेपालका किसानलाई इजरायलमा लगेर कृषिको विकास, आधुनिकीकरण र प्रविधिबारे सिकाएको उल्लेख गर्दै अहिले कृषि अध्ययनरत विद्यार्थीलाई त्यसतर्फ लग्ने गरिएको जनाए । बुद्ध जन्मस्थल लुम्बिनी र अन्य पर्यटकीय ठाउँको विकासमा सहकार्य गर्न तयार रहेको उनले स्पष्ट पारे । 

भेटघाटका क्रममा राजदूत बासले इजरायलका प्रविधिबारे सिकेर नेपालमा कृषि क्षेत्रको विकासमा प्रयोग गर्न आग्रह गरे । 

इजरायल नेपालको हरेक क्षेत्रको विकासमा साझेदार गर्न तयार रहेको उल्लेख गर्दै उद्योगी व्यवसायीसँग आवश्यक सहकार्य गरिने उनले बताए । निर्यात हुने सामानको उत्पादन गर्न आग्रह गर्दै त्यसमा इजरायलले सहजीकरण गर्ने उनले बताए । राजदूत बासले नियमित उडान गर्न नसकिएपनि गौतमबुद्ध विमानस्थलमा इजरायलबाट कम्तिमा सिजनमा चार्टर्ड उडान गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।

सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्य, नेपाल उद्योग बाणिज्य महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष कुलप्रसाद न्यौपाने, संघका निवर्तमान अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, उद्योगी केशब विक्रम खड्काले दुई देशबीचको सदियौं देखिको सम्बन्धलाई अझ प्रगाढ बनाउनु पर्ने बताए । 

दीपेन्द्र बडुवाल

Link copied successfully