हरित ऊर्जा प्रवर्द्धन गर्दै वातावरणमैत्री पारवहनलाई प्रोत्साहित गर्ने उद्देश्यले पूर्व–पश्चिम राजमार्गमा सहज र सरल रूपमा सेवा प्रदान गर्न स्टेसन संचालन गरिएको हो ।
कपिलवस्तु — पूर्व–पश्चिम राजमार्गस्थित वाणगंगा नगरपालिका–४ जीतपुरमा विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन संचालन गरिएको छ ।
स्वाभिमान बचत तथा ऋण सहकारी संस्थाको करिब ७५ लाख लगानीमा उक्त चार्जिङ स्टेसन निर्माण गरिएको हो । हरित ऊर्जा प्रवर्द्धन गर्दै वातावरणमैत्री पारवहनलाई प्रोत्साहित गर्ने उद्देश्यले पूर्व–पश्चिम राजमार्गमा सहज र सरल रूपमा सेवा प्रदान गर्न स्टेसन संचालन गरिएको हो ।
स्टेसनमा दुईवटा अत्याधुनिक चार्जर मेसिन रहेको सहकारीका व्यवस्थापक सागर घिमिरेले बताए । ८० केभी क्षमताको ‘फास्ट चार्जर’ जडान गरिएको उक्त स्टेसनमा एकैपटक चारवटा सवारी साधन चार्ज गर्न सकिने व्यवस्था छ । स्टेसनबाट दैनिक ५० भन्दा बढी विद्युतीय सवारी साधन सहज रूपमा चार्ज गरी सेवा दिन सक्ने क्षमता छ ।
चार्जिङ स्टेसनको लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी र वाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले संयुक्त रूपमा उद्घान गरे । सहकारीले अहिलेको मागअनुसार सेवाको विविधिकरण गरी दिगो ऊर्जा प्रवर्द्धनका लागि यो स्टेसन निर्माण गरेको सहकारीका अध्यक्ष घनश्याम घिमिरेले बताए । वाणगंगा नगरपालिकामा यो पहिलो चार्जिङ स्टेसन हो ।
