परासीस्थित पशु सेवा विज्ञ केन्द्रका अनुसार जिल्लामा अहिलेसम्म करिब १ सयको हाराहारीमा बंगुर मरेको प्रारम्भिक जानकारी छ ।
परासी — बंगुर र सुंगुरमा अफ्रिकन स्वाइन फिभर देखिएपछि पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले हाट बजारमा मासु बिक्री वितरणमा रोक लगाइएको छ ।
केही दिनअगाडि बजार अनुगमन क्रममा हाटबजारमा बिक्रीका लागि राखिएको बंगुरको मासु परीक्षण गर्दा अफ्रिकन फिभर पुष्टि भएको थियो । त्यसपछि नगरभित्रका एक सयभन्दा बढी बंगुर यही रोगको कारण मरेपछि नगरपालिकाले बंगुर र सुंगुरको मासु बिक्री वितरण गर्न रोक लगाएको रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयले बताए ।
नरगपालिकाभित्र लाग्ने हाटबजारमा बंगुर र सुंगुरको मासु बिक्री गर्न रोक लगाएको र उपभोक्तालाई खुल्ला स्थानमा बिक्री हुने माछा मासु खरिद नगर्न सूचनामार्फत नगरले आग्रह गरेको छ ।
जिल्लाका हाटबजारमा अव्यवस्थित तवरले माछामासुको बिक्री वितरण हुँदै आएको छ । प्रशासन र स्थानीय तहले पटकपटक अनुगमन गरे पनि व्यवस्थित हुन सकेको छैन ।
परासीस्थित पशु सेवा विज्ञ केन्द्रका अनुसार जिल्लामा अहिलेसम्म करिब १ सयको हाराहारीमा बंगुर मरेको प्रारम्भिक जानकारी छ । खुल्ला सिमानाका कारण भारतबाट बिरामी बंगुर ल्याएर काटेको हुन सक्ने अनुमान गरिएको छ । बिरामी भएको बंगुर काटेर बिक्री नगर्न प्रशासनले आग्रह गरेको छ ।
