२०७० मा त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त गरेको सत्यवती बहुमुखी क्याम्पस सत्यवती क्षेत्रको एक मात्रै उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्था हो । हाल मानविकी र व्यवस्थापन संकायको अध्यापन हुने यस क्याम्पसले लगत्तै शिक्षा संकायको समेत स्वीकृति पाउने चरणमा छ ।
What you should know
गुल्मी — सत्यवती गाउँपालिका-५ हँसरास्थित सत्यवती बहुमुखी क्याम्पसले क्याम्पसको समग्र विकासका लागि ज्ञान-महायज्ञको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । मंसिर १८ देखि २५ गतेसम्म सत्यवती बहुमुखी क्याम्पसले 'राष्ट्रकल्याण एवं विश्वशान्ति विराट् धनधान्याञ्चल साङ्ग-श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ-२०८२' संचालन गर्न लागेको हो ।
नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञाननन्द सरस्वती महाराज र स्वामी विवेकानन्द सरस्वती महाराजले दार्शनिक प्रवचनका साथै आचार्य नारायणप्रसाद गैरेद्वारा श्रीमद्भागवतीय कथा प्रवचन हुने प्रचारप्रसार समिति संयोजक प्रकाश भट्टराईले जानकारी दिए ।
महायज्ञमा लक्षहवन, महारुद्राभिषेक, पञ्चदेवोपासना, विविध मन्त्रजप, शतचण्डी, शुक्लयजुर्वेद, गीता, विष्णुसहस्रनामादि र पाठ-पारायण हुने यज्ञ सम्पादन समिति संयोजक पीताम्बर ज्ञवालीले बताए ।
साथै भजनकीर्तन, कृष्णलीला र नृत्य प्रदर्शन, पहिलो दिन पूर्वाङ्ग, शोभायात्रा, उद्घाटन र मौलो पूजापछि औपचारिक श्रीमद्भागवत् चल्नेछ । त्यसपछि अन्तिम दिन यज्ञपूर्णाहुति र समापन कार्यक्रम हुने यज्ञ सम्पादन समिति संयोजक ज्ञवालीले बताए । महायज्ञमा अन्नदान र नगद रकम सहयोग गर्न सकिनेछ । जसले जति सक्छ, त्यति सहयोग गर्न सकिने ज्ञान महायज्ञमा सहयोग रकम अनुसारका विभिन्न सम्मानका कार्यक्रम राखिएको छ ।
२०७० मा त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त गरेको सत्यवती बहुमुखी क्याम्पस सत्यवती क्षेत्रको एक मात्रै उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्था हो । हाल मानविकी र व्यवस्थापन संकायको अध्यापन हुने यस क्याम्पसले लगत्तै शिक्षा संकायको समेत स्वीकृति पाउने चरणमा छ ।
सूचना तथा संचार प्रविधि र गुणस्तरीय शिक्षाको विकास गर्न, आर्थिक विकास र भौतिक पूर्वाधारलाई सबल बनाउन, आवासीय छात्रावासको व्यवस्था गर्न, आधुनिक पुस्तकालय निर्माण गर्न, विद्यार्थीलाई 'पढ्दै कमाउँदै' कार्यक्रममा जोड्न र नीतिचेतना, आदर्श धर्म र संस्कारमा आधारित समयसापेक्ष संस्कृत शिक्षाको व्यवस्थापनमा पहल गर्न ज्ञान महायज्ञ गर्न लागिएको क्याम्पस प्रमुख विकास ढकालले जानकारी दिए । उनले विपन्न विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिएर शिक्षाबाट वञ्चित नहुने वातावरण बनाउने योजना रहेको पनि बताए ।
महायज्ञबाट करिब तीन करोड रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको आर्थिक समिति संयोजक पारिश्वर ढकालले बताए । 'लक्ष्य पूरा गर्नका लागि सबैको सहयोग आवश्यक छ,' उनले भने, 'उत्साहपूर्ण ढंगको आर्थिक सहयोगको वचन पाएका छौं । चौतर्फी सहयोगले ज्ञान महायज्ञ सफल हुनेमा विश्वस्त छौं ।'
क्याम्पसका संरक्षक सत्यवती गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेले महायज्ञमा व्यवस्थापनदेखि लिएर सबै कुरामा आफूहरूको सहयोग रहेको बताए । 'हामीले नगद सहयोग गर्न मिल्दैन, बेरुजु आउँछ, त्यसैले ठूलो रकम सहयोग गर्न सक्ने कुरा भएन', उनले भने, 'महायज्ञ तयारीदेखि लिएर व्यवस्थापन सबै पक्षमा हाम्रो सहयोग छ ।' उनले क्याम्पसको विकासका लागि स्वतस्फूर्त सहयोग गर्न चाहनेका लागि महायज्ञको वातावरण तयार गरेको पनि बताए ।
क्याम्पसमा हाल मानविकी र व्यवस्थापन संकाय मात्रै रहेकाले ९२ जना विद्यार्थी अध्ययनरत छन् । क्याम्पसले शिक्षा संकाय थपेपछि यो संख्या बढ्ने अपेक्षा गरिएको छ ।
