लुम्बिनी प्रदेश सभाद्वारा दोस्रो कार्यकालका उपलब्धि सार्वजनिक

दोस्रो कार्यकालमा प्रदेश सभामा १९ वटा विधेयक दर्ता भएका छन् । तीमध्ये १५ वटा पारित भएका छन् । एउटा विधेयक प्रदेश प्रमुखबाट फिर्ता भएको छ ।

मंसिर ८, २०८२

घनश्याम गौतम

Lumbini Provincial Assembly makes achievements of second term public

What you should know

बुटवल — लुम्बिनी प्रदेश सभा सचिवालयले दोस्रो कार्यकालका उपलब्धि सार्वजनिक गरेको छ । प्रदेश सभा सचिवालयले सोमबार देउखुरीमा पत्रकार सम्मेलन गर्दै उपलब्धि सार्वजनिक गरेको हो ।

प्रदेश सभाको सातौं अधिवेशन सुरु हुनुअघि सचिवालयले विधेयक निर्माणदेखि समितिको गतिविधि, प्रशासनिक प्रगति तथा अन्तर्राष्ट्रिय सहकार्यसम्मका विवरण सार्वजनिक गरेको हो । प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरका अनुसार दोस्रो कार्यकालमा प्रदेश सभामा १९ वटा विधेयक दर्ता भएका छन् । तीमध्ये १५ वटा पारित भएका छन् । पारित विधेयकमध्ये १४ वटा प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेका छन् । दुई विधेयक सदनमा प्रस्तुत भने हुन बाँकी छन् । दुई विधेयक लगतकट्टा भएका छन् । एक विधेयक प्रदेश प्रमुखबाट फिर्ता भएको छ । यस अवधिमा प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन जारी भई कार्यान्वयनमा आएका छन् ।

‘विधेयक पारिसँगै वार्षिक नीति तथा कार्यक्रम, बजेट, विधेयक निर्माण र कार्यान्वयनमा सहयोग गर्दै प्रदेश सभा सक्रिय रूपमा काम गरिरहेका छौं,’ उनले भने, ‘जनमैत्री, जिम्मेवार र प्रभावकारी प्रदेश सभा निर्माण सचिवालयको दीर्घकालीन लक्ष्य राखेर काम गरिरहेको छ ।’ संविधान र सम्बन्धित कानुनअनुसार सचिवालयले प्रशासनिक तथा आर्थिक व्यवस्थापन, भौतिक संरचना, सुरक्षा व्यवस्था, सूचना प्रणाली सुदृढीकरण तथा सदस्य सेवा–सुविधासम्बन्धी कार्य नियमित रूपमा सञ्चालन गर्दै आएको छ ।

सार्वजनिक लेखा समिति, प्रदेश मामिला तथा कानुन समिति, कृषि–वन तथा वातावरण समिति, भौतिक पूर्वाधार तथा विकास समिति, सामाजिक विकास समिति, अर्थ–उद्योग–पर्यटन समिति र विशेषाधिकार समितिले आफ्नो कार्यक्षेत्र अनुसार छलफल, अनुगमन र निर्देशनसम्बन्धी काम गर्दै आएका छन् । चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत बजेटमध्ये पहिलो चौमासमा मुख्यतः चालु खर्च भएको र पुँजीगत खर्च सुरु हुन बाँकी रहेको जानकारी गराइएको थियो ।

‘प्रदेश सभामा पहुँच कार्यक्रम’ अन्तर्गत २५० भन्दा बढी विद्यार्थी र शिक्षकले प्रदेश सभाको अवलोकन गरेका छन् । ‘शासन अन्तर्राष्ट्रिय नेपाल’ सँगको सहकार्यमा संसदको खुलापन, पहुँच तथा अभ्याससम्बन्धी कार्यक्रम सांसद, पत्रकार, निजी क्षेत्र, नागरिक समाज र सरोकारवाला निकायबीच सम्पन्न भएको प्रदेश सभाका प्रवक्ता लोकमणि पाण्डेले बताए ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully