यी हुन् लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका सात निर्णय

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यतका (देउखुरी) मा सम्पन्न बैठकले उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले पेश गरेको बाधा अड्काउ फुकाउसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ ।

मंसिर ७, २०८२

दुर्गालाल केसी

These are the seven decisions of the Lumbini Provincial Council of Ministers meeting.

दाङ — लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्‌को आइतबारको बैठकले विभिन्न सात वटा निर्णय गरेको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यतका (देउखुरी) मा सम्पन्न बैठकले उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले पेश गरेको बाधा अड्काउ फुकाउसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ ।

सडक सवारी, यातायात तथा परिवहन ऐन, २०७६ को दफा ११९ को अधिकार प्रयोग गरी प्रदेश सरकारले बाधा अड्काउ फुकुवा गरी निर्देशनालयले गर्नुपर्ने अत्यावश्यक कार्य निर्देशनालय गठन नभएसम्मका लागि उद्योग, पर्यटन तथा यातायात मन्त्रालयबाट सम्पादन गर्ने गरी निर्णय गरिएको हो ।

मन्त्रालयकै तर्फबाट लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्न अनुमति दिने निर्णय भएको भौतिक पूर्वाधार तथा विकासमन्त्री भूमिश्वर ढकालले जानकारी दिए ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले पेस गरेको प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक प्रदेशसभामा पठाउन बैठकले स्वीकृति प्रदान गरेको छ । सामाजिक विकास मन्त्रालयबाट दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक तथा अपांगता रोकथाम तथा पुन:स्थापना कार्यक्रमसम्बन्धी कार्यविधि, २०८२ पनि बैठकले पारित गरेको छ ।

यस्तै बैठकले भीम अस्पतालमा सरुवा भएका कन्सल्टेन्ट डेन्टल सर्जन डा. वर्षा थापालाई मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी दिने निर्णय गरेको छ । त्यस्तै शिवराज नगरपालिकाको हाटबजार व्यवस्थापनका लागि जग्गा प्राप्तिमा सहजीकरण गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय पनि भएको छ ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully