गुल्मीमा १० दिनदेखि बेपत्ता ४० वर्षीया महिला मृत फेला

धुर्कोट गाउँपालिका-६ रजस्थलकी ४० वर्षीया सीता थापा मृत अवस्थामा फेला परेकी हुन् ।

मंसिर ७, २०८२

सन्तोष महतारा

40-year-old woman missing for 10 days found dead in Gulmi

गुल्मी — गुल्मीमा १० दिनदेखि बेपत्ता ४० वर्षीया महिला मृत फेला परेकी छिन् । जिल्लाको धुर्कोट गाउँपालिका-६ रजस्थलकी ४० वर्षीया सीता थापा वडा नम्बर ५ बस्तुमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

धुर्कोट गाउँपालिका-६ रजस्थलको लाहाता बस्ने ४२ वर्षीय घनश्याम थापाकी ४० वर्षीया श्रीमती थापा गत कार्तिक २६ गते दिउँसो २ बजे घरबाट कसैलाई नभनी निस्केकी थिइन् । त्यसपछि उनी हराएकाले खोजी कार्यका लागि मंसिर ४ गते मात्रै प्रहरी चौकीमा मौखिक जानकारी आफन्तले दिएका थिए ।

खोज्ने क्रममा धुर्कोट गाउँपालिका -५ बस्तुको कुम्ला बनडाँडास्थित खाली घरमा मृत अवस्थामा फेला परेकी हुन् ।  त्यसपछि  प्रहरी चौकी धुर्कोट बस्तुबाट प्रहरी सहायक निरीक्षक शारदा भट्टको कमाण्डमा दुई जनाको टोली र इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेनको कमाण्डमा पाँच जनाको टोली खटिएको थियो । शव  सडेगलेको अवस्थामा रहेको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

सन्तोष महतारा

Link copied successfully