नारायणी पुलमा शुक्रबार र शनिबार राति यातायात संचालनमा रोक, कुन सवारी कहाँ रोकिने ?

चितवन र नवलपरासी जोड्ने नारायणी नदी पुलको नवलपुर खण्डमा कालोपत्र गर्नुपर्ने भएकाले रातको समयमा यातायात संचालनमा रोक लगाइएको हो ।

मंसिर ५, २०८२

नवीन पौडेल

Traffic on Narayani Bridge to be suspended on Friday and Saturday nights, which vehicles will stop where?

नवलपुर — विस्तारको क्रममा रहेको नारायणगढ-बुटवल सडक खण्डअन्तर्गत पूर्वी नवलपरासीको गैंडाकोटमा शुक्रबार र शनिबार राति ११ देखि बिहान ४ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ । 

चितवन र नवलपरासी जोड्ने नारायणी नदी पुलको नवलपुर खण्डमा कालोपत्र गर्नुपर्ने भएकाले रातको समयमा यातायात संचालनमा रोक लगाइएको हो ।

नारायणगढ-बुटवल सडक विस्तार आयोजनाले सूचना जारी गर्दै यस अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको सडक विस्तार आयोजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए ।

यस अवधिमा सवारी साधन र यात्रुले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । यस अवधिमा बुटवलबाट नारायणगढतर्फ जाने साना र मिनी बस गैंडाकोटको थुँसी क्षेत्र र ठुला सवारी वेल्डियादेखि प्रगतिनरगको बीचमा रोक्नुपर्ने छ ।

नारायणगढबाट बुटवलतर्फ जाने साना सवारी रामनगर र ठुला सवारी जुगेडीदेखि दासढुंगा क्षेत्रमा रोक्नुपर्ने छ ।

अहिले दाउन्ने र बाँकी भागमा सडक विस्तारको काम धमाधम भैरहेको छ ।

२०७५ चैतदेखि सुरु भएर ४४ महिनामा सम्पन्न हुनुपर्ने काम चौथो पटक म्याद थप भएर ०८३ साउन ७ गतेसम्म लम्ब्याइएको छ । समयमा नै काम नहुँदा यात्रुले सास्ती भोग्नुपरेको छ । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully