कात्तिक महिनामा रुपेन्देही प्रहरीद्वारा ३९ फरार अभियुक्त पक्राउ

यसबाट कैद २६ वर्ष ८ महिना २५ दिन र जरिवाना ८ लाख ६ हजार ८ सय ३५ रुपैयाँ असुलउपर भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जनाए ।

मंसिर ४, २०८२

दीपेन्द्र बडुवाल

Rupendehi Police arrest 39 absconding accused in Kartik

What you should know

भैरहवा — जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गत कात्तिक महिनामामात्रै विभिन्न मुद्दाका फरार ३९ जना अभियुक्त पक्राउ गरेको छ । जिल्ला र मातहत प्रहरी कार्यालयबाट तैनाथ टोलीले ती अभियुक्त पक्राउ गरेका हुन् ।

यसबाट कैद २६ वर्ष ८ महिना २५ दिन र जरिवाना ८ लाख ६ हजार ८ सय ३५ रुपैयाँ असुलउपर भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जनाए । उनका अनुसार कात्तिकमा जिल्ला प्रहरी र मातहत कार्यालयबाट खटिएका टोलीले विभिन्न स्थानबाट भन्सार छलेर भारतबाट नेपालतर्फ अवैध रुपमा भित्र्याइएका १ करोड ५९ लाख ९३ हजार ६५७ रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

जिल्ला प्रहरीको कात्तिक महिनाको प्रगति विवरणअनुसार यसक्रममा २७ थान मोटरसाइकल, एउटा कार, ४ थान पिकअप, २ वटा अटोरिक्सा नियन्त्रणमा लिइएको छ । यस्तै, चोरीपैठारीमा संलग्न ३२ व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीकालागि भैरहवा भन्सार कार्यालय बेलहिया, पशु चेकपोष्ट कार्यालय, बेलहिया र राजश्व अनुसन्धान कार्यालय बुटवलको जिम्मा लगाइएको छ । 

कात्तिकमा १ सय ७४ वटा विभिन्न प्रकृतिका मुद्दा दर्ता भएका छन् । यसमध्ये ९१ वटा फर्छ्यौट भएका छन् । ८३ वटा अनुसन्धानका क्रममा रहेको डीएसपी कार्कीले बताए । ‘यी मुद्दामा संलग्न १ सय ६१ जना व्यक्ति पक्राउ पर्दा ५६ जना फरार रहेका छन,’ उनले भने । कात्तिकमा २६ जनाले आत्महत्या गरेको प्रहरी तथ्यांक छ । 

एक महिनामा प्रहरीले लागुऔषध ओसारपसार र सेवनकर्ता पक्राउ गरी १० वटा मुद्दा दर्ता गरेको र १५ जना पक्राउ परेका जनाएको छ । कात्तिकमा ८२ वटा समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गर्नेक्रममा २ हजार ७ सय ९४ जना लाभान्वित भएका छन् । जिल्ला ट्राफिक र जिल्ला प्रहरीको संयुक्त चेकजाँचका क्रममा ४ सय २२ वटा सवारीसाधन कारबाहीमा परेका छन् ।

सवारीसाधन कारबाहीबाट ४ लाख ३७ हजार ५ सय रुपैयाँ जरिवाना असुलउपर भएको डीएसपी कार्कीले बताए । यस्तै, ११ वटा आगलागीका घटना हुँदा २ करोड ५३ लाख ५२ हजार ७५० रुपैयाँ बराबरको क्षति भएको प्रहरीको तथ्यांक छ । 

कात्तिकमा ९६ वटा मोबाइल हराएको निवेदन दर्ता भएकामा १४ वटा फेला पारेर सम्बन्धित धनीव्यक्तिलाई बुझाइएको छ । यस्तै, अवैधरुपमा नदीजन्य पदार्थ र माटो उत्खननमा संलग्न दुईवटा टिपर र एउटा जेसीभी नियन्त्रणमा लिएर सम्बधित पालिकाको जिम्मा लगाइएकोमा त्यसबाट दुई लाख ५३ हजार जरिवाना संकलन भएको प्रहरीले जनाएको छ ।

दीपेन्द्र

Link copied successfully