अब दक्षिणी भेगबाट परिचयपत्रका लागि घण्टौं लगाएर जिल्ला प्रशासन कार्यालय परासी आउनुपर्ने बाध्यता हटेको छ।
परासी — पश्चिम नवलपरासीको इलाका प्रशासन कार्यालय सेमरीबाट राष्ट्रिय परिचयपत्र विवरण दर्ताको काम सुरु भएको छ। जिल्लाको दक्षिणी भेगबाट परिचयपत्रका लागि घण्टौं लगाएर जिल्ला प्रशासन कार्यालय परासी आउनुपर्ने बाध्यता हटेको छ।
यसअघि इलाका प्रशासन कार्यालय सेमरीबाट नागरिकताको काम मात्र हुँदै आएको थियो।
सेवाग्राहीको समस्या मध्यनजर गरेर यो सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताए। अब इलाका प्रशासन कार्यालय सेमरीबाट जिल्लाको सुस्ता, प्रतापपुर गाउँपालिका र बर्दघाट नगरपालिकाका १२, १३, १४, १५ र १६ नम्बर वडाका बासिन्दाले सेवा पाउने छन्।
प्रतापपुर गाउँपालिकाकी ज्योती चौधरीको राष्ट्रिय परिचयपत्र विवरण दर्ता गरेर प्रतापपुर गाउँपालिकाका प्रमुख उमेश चन्द्र यादव र प्रमुख जिल्ला अधिकारी लम्सालले सेवाको शुभारम्भ गरेका थिए।
पूर्वी नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ५ त्रिवेणीका बासिन्दाका अशक्त तथा वृद्धवृद्धाको पनि राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्ने तयारी भैरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताए।
गण्डकी प्रदेशमा पर्ने त्रिवेणीका बासिन्दालाई लुम्बिनी प्रदेशको बर्दघाट हुँदै सदरमुकाम कावासोती जानुपर्ने बाध्यता भएकाले सहजताको लागि अशक्त र वृद्धवृद्धालाई सेवा दिन लागिएको हो।
