प्रहरीको हिरासत कक्षको शौचालयमा थुनुवाद्वारा आत्महत्या

गए राति करिब १ बजेतिर शौचालय गएका निसाद लामो समयसम्म नफर्केपछि सँगै सुतेकाले प्रहरीलाई खबर गरेका थिए । प्रहरी आएर हेर्दा उनी झुन्डिएको अवस्थामा पाइएका थिए ।

मंसिर ३, २०८२

मनोज पौडेल

Detainee commits suicide in police custody cell toilet

What you should know

कपिलवस्तु — अवैध लागूऔषध ओसारप्रसार गरेको आरोपमा पक्राउ परेका भारतीय नागरिकले प्रहरी हिरासत कक्षको शौचालयमा आत्महत्या गरेका छन् ।

१९ दिनदेखि हिरासतमा रहेका भारतको सिद्धार्थनगर जिल्लास्थित दुनेथा दमन बस्ने ३९ वर्षका विनोदकुमार निसादले गए राति सदरमुकाम तौलिहवास्थित जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा आत्महत्या गरेका हुन् ।

गए राति करिब १ बजेतिर शौचालय गएका निसाद लामो समयसम्म नफर्केपछि सँगै सुतेकाले प्रहरीलाई खबर गरेका थिए । प्रहरी आएर हेर्दा उनी झुन्डिएको अवस्थामा पाइएका थिए । प्रहरीले भने यो घटनालाई बाहिर ल्याएको छैन । अनावश्यक झमेला र तनाव हुने भन्दै घटनालाई गुपचुप राखेका छन् । 

घटना भएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले बताए । उनी कार्तिक १४ गते राति ८ बजेतिर भारतबाट ठूलो परिणाममा अवैध लागूऔषध खेरो हिरोइन ७९ दशमलव ६४ ग्राम लिएर आउँदा पक्राउ परेका थिए ।

यूपी५५वाई०६३८ नम्बरको पल्सर मोटरसाइकल चलाउँदै आएका बेला इलाका प्रहरी कार्यालय, पकडी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाको टोलीले पक्राउ गरेको थियो । उनको शरीर खानतलासी गर्दा उक्त लागू औषध बरामद भएको थियो । उनीसँगै भारतको सिद्धार्थनगर जिल्लाका शोहरतगढ मदहनापुर बस्ने २७ वर्षका शिव रतनलाई पनि पक्राउ गरिएको थियो । शिव रतनबाट लागूऔषध तौल गर्ने डिजिटल तराजु पनि बरामद गरिएको थियो । 

दुवै जनालाई प्रहरीले हिरासतमा राखेर अदालतबाट म्याद थप गर्दै अनुसन्धान गरिरहेको थियो ।

मनोज पौडेल

Link copied successfully