रोहिणी पुल नजिकै निर्माण गरिएको संरचनामा सोमबारबाट दस्तुर संकलन थालिएको हो ।
What you should know
भैरहवा — सडक बोर्ड नेपालले रूपन्देहीको भैरहवा–भूमही खण्डमा डिजिटल माध्यमबाट सडक उपभोग दस्तुर संकलन सुरु गरेको छ ।
उक्त सडक खण्डअन्तर्गत रोहिणी पुल नजिकै निर्माण गरिएको संरचनामा सोमबारबाट दस्तुर संकलन थालिएको हो ।
कोरोना महामारीपछि पहिलोपटक बोर्डले कर्मचारी खटाएर भैरहवा–भूमही २८ किलोमिटर खण्डमा दस्तुर संलकन सुरु गरेको जनाएको छ । सडक बोर्ड ऐन २०५८ बमोजिम पहिलोपटक कर्मचारी खटाएर सडक उपभोग गरेवापत दस्तुर संकलन सुरु गरिएको सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेशबहादुर केसीले जानकारी दिए ।
यसअघि उक्त खण्डमा असुलीका लागि संरचना तयार भए पनि रकम संकलन गरिएको थिएन । सोमबार डिजिटल माध्यामबाट दस्तुर संकलन थालिएकाले गाडीको जाम लागेको थियो । धेरै चालकले पहिलोपटक रकम बुझाउनु परेपछि कर्मचारीसित जिज्ञासासमेत राखेका थिए ।
कार्यकारी निर्देशक केसीले कर दिवसको अवसरमा सोमबार मध्यान्ह डिजिटल माध्यमबाट सडक उपयोग दस्तुर भुक्तानीको सुरुवात गरेका थिए । एनआइसी एसिया बैंकसितको साझेदारीमा दस्तुरबपतको रकम क्युआर कोडमार्फत भुक्तानीको व्यवस्था मिलाइएको छ ।
पहिले ठेकेदारमार्फत यस्तो दस्तुर असुली गर्दा विवाद भएकाले यसपटक बोर्ड र आउट सोर्सिङ गरिएका कर्मचारीमार्फत संलकनको व्यवस्था मिलाइएको उनले जनाए । ‘ठेकेदारले जति रकम संकलन हुनुपर्थ्यो त्यति पैसा नउठाउँदा हामीलाईसमेत टेन्सन भयो,’ उनले भने, ‘२०८१ जेठ १७ को मन्त्रिपरिषद्को निर्णय अनुसार डिजिटल माध्यमबाट टोल ट्याक्स उठाउन सुरु गरेका हौं ।’
अहिले दस्तुर संकलन गरिएको स्थान भैरहवा भन्सार बिन्दुबाट नजिक रहेको र अधिक भार नियन्त्रणका लागि यहाँबाट दस्तुर संकलन सुरुवात गरिएको उनले बताए । ‘जहाँबाट रकम संकलन हुन्छ, यो पैसा त्यही सडक मर्मतमा खर्च गरिन्छ,’ उनले भने, ‘यहाँबाट असुली सुरु गर्नुका कारण भन्सारबाट किन ओभरलोड बोकेर गाडी भित्रिन्छन् भन्ने जाँच्न पनि हो ।’
ओभरलोडका कारण सडक भत्किने गरेको उनले बताए । एसियाली डेभलपमेन्ट बैंकको सहयोगमा बनेको सडक भएकाले यहाँबाट दस्तुर असुल्नेबारे २०७६ सालमै राजपत्रमा सूचना प्रकाशित भइसकेको छ ।
जस अनुसार बस, मिनिबस, ट्रक, मिनिट्रक र हेभी मेसिनरी इक्वेपमेन्टको ३०, कार, जीप, भ्यान, पिकअप र ट्रयाक्टरको २० र तीन पांग्रे सवारीसाधनको १० रुपैयाँ दस्तुर तोकिएको छ ।
यस लगत्तै वीरगन्ज–पथलैया, धरान–विराटनगर र नारायणगढ–मुग्लिन खण्डमा पनि असुली सुरु गर्न लागेको उनले जानकारी दिए । यी सडकमा संकलन भएको रकम सडक बोर्डको नेपालमा सिधैं जम्मा हुनेछ । साथै सडकमा संकलन भएको दस्तुरको जानकारी कम्प्यूटरबाट नियमन गर्न मिल्ने बनाइएको छ । ‘सडकमा गुड्ने गाडीबाट थोरै रकम लिएर सडकलाई जिवन्त राख्ने प्रयास हो,’ उनले भने, ‘अब हामी असुलीलाई आधुनिक तुल्याउँदै जानेछौं ।’
