जिल्लाको भारतीय सीमासँग सटेको ९३ किमिसम्म गस्ती गरिने छ ।
What you should know
कपिलवस्तु — निकै संवेदनशील मानिने सीमा क्षेत्रमा सशस्त्र प्रहरीले पैदल गस्ती थालेको छ । रूपन्देहीको सीमासँग सटेको ताडानगरबाट कपिलवस्तुका सशस्त्रले सीमाको दशगजा क्षेत्रमा सतर्कता बढाउँदै शनिबारबाट पैदल गस्ती गरिरहेका हुन् ।
प्रहरी निरीक्षकको कमाण्डमा दैनिक १०/१२ किमि सीमा क्षेत्रमा हिँड्दै उनीहरूले सुरक्षा सतर्कता बढाएका हुन् । सीमाको पुनिहवादेखि वाणगंगासम्म आइतबार सशस्त्रको डंगरी बीओपीका प्रमुख निरीक्षक वीरेन्द्र सेनले कमाण्ड गर्दै पैदल गस्ती गरेका थिए ।
वाणगंगादेखि सशस्त्रको हर्दौना बीओपीले कमाण्ड गर्दै पश्चिमतिर गस्ती गर्दै गएका छन् । सीमामा रहेका सशस्त्र बीओपीले कमाण्ड गर्दै पूर्वदेखि पश्चिमको कल्यणकोटसम्म पैदल गस्ती गरिने सशस्त्रको डंगरी बीओपीका प्रमुख निरीक्षक सेनले बताए ।
पैदल गस्तीमा २० देखि २५ जनासम्म सशस्त्र हुने गरेका छन् । गस्तीले ठाउँठाउँमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग समन्वय गरी गस्ती गरिरहेका छन् । त्यस क्रममा एसएसबीसँग सल्लाह सुझाव, सुरक्षा चुनौती र जोखिमबारे छलफलसमेत भइरहेको छ । जिल्लाको भारतीय सीमासँग सटेको ९३ किमिसम्म गस्ती गरिने बताइएको छ । 
भारत, पाकिस्तान र बंगलादेशमा भएका शृंखलाबद्ध बम विस्फोटपछि नेपाली सीमामा पनि सुरक्षा सतर्कता बढाइएको सशस्त्रको २८ नम्बर गणका प्रमुख उपरिक्षक नेत्र केसीले बताए । ‘विस्फोटमा जोडिएका व्यक्ति नेपाल प्रवेश गर्न सक्ने भन्दै भारतीय अधिकारीले सचेत पनि बनाएका छन् । सीमा क्षेत्रको संवेदनशीलतालाई मध्यनजर गरेर ती स्थानमा सतर्कता बढाइएको हो,’ उनले भने, ‘गस्तीले दुई देशका सुरक्षा अधिकारीबीच समन्वय र सहकार्य पनि बढेको छ ।’
