बागलुङको निसीखोला–६, रास्कोटकी २० वर्षीया मेलिना परियारको हत्या आरोपमा श्रीमान् वीरबहादुर कुँवर पक्राउ परेका हुन् ।
भैरहवा — रूपन्देहीको सिद्धार्थनगर–८, स्थित एक होटल परिसरमा रहेको निवासमा श्रीमतीको हत्या आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन् ।
सिद्धार्थनगर–८, स्थित होटल लुम्बिनी गेटमा काम गर्दै आएकी बागलुङको निसीखोला–६, रास्कोटकी २० वर्षीया मेलिना परियारका श्रीमान् वीरबहादुर कुँवर हत्यापछि फरार रहेका थिए ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीका अनुसार तीन दिनअघि होटल कम्पाउन्डभित्र मेलिनाको शव फेला परेको थियो । घटनाको अनुसन्धान गर्ने क्रममा श्रीमान्ले सामाजिक सञ्जालमार्फत अन्य महिलासित कुराकानी गरेको आशंकामा पति–पत्निबीच झगडा सुरु भएको थियो । त्यही क्रममा श्रीमान्ले पत्नीलाई मादक पदार्थ सेवन गराएर हत्या गरेको खुलेको डीएसपी कार्कीले जानकारी दिए ।
घटनालगत्तै फरार रहेका कुँवरलाई प्रहरीले शुक्रबार बुटवल–९, बसर्पाकमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जनाएको छ ।
पक्राउ परेका कुँवरलाई हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरी जनायो ।
