दलीय व्यवस्थामा राजनीतिक दललाई निषेध गरेर चुनाव हुनै नसक्ने एमाले उप-महासचिव प्रदीप ज्ञवालीको दाबी ।
What you should know
गुल्मी — नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारले राजनीतिक दलसँग बढाएको दूरीका कारण चुनाव हुनेमा विश्वास नरहेको बताएका छन् । नेकपा एमाले गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै शनिबार उनले यस्तो बताएका हुन् ।
संविधानले नचिन्ने प्रधानमन्त्रीकै वरिपरिका व्यक्तिले चुनावमा पुरानै नेता आए उनीहरूको उम्मेदवारी खारेजीको चेतावनी दिइरहेको अवस्थामा वर्तमान सरकार केही नबोल्नु चुनाव गराउन नखोज्नु भएको उनको आरोप छ । 'सरकार चुनाव गराउने दिशामा छैन्, जेनजीका माग अलग छन्,' उनले भने, 'संसद् पुनःस्थापन नहुने र चुनाव पनि नहुने अहिलेको अवस्थाले थप संकट निम्त्याउँछ ।' दलीय व्यवस्थामा राजनीतिक दललाई निषेध गरेर चुनाव नहुने उनले बताए ।
चुनावमा जान नेकपा एमाले तयार रहेको पनि उनको तर्क छ । 'नेकपा एमाले चुनावमा जान तयारै छ,' उपमहासचिव ज्ञवालीले भने, 'चुनावका लागि निष्पक्षता र निर्भयताको ग्यारेन्टी चाहिँ हुनुपर्छ ।' तर अहिलेको सरकारले त्यसको सुनिश्चितता गराउन नसकेको उनले बताए ।
चुनावको मिति तोक्ने तर शीर्ष नेतालाई नै उपत्यकाबाहिर जान नदिने घोषणाले चुनाव हुन्छ भनेर विश्वास गर्न नसकिने पनि ज्ञवालीको तर्क छ । राजनीतिक अस्थिरता र बाह्य शक्तिको चलखेलले मुलुक संकटमा गइरहेको उनले दाबी गरे ।
प्रतिनिधिसभा विघटन र वर्तमान सरकार दुवै असंवैधानिक रहेकामा नेकपा एमाले प्रष्ट रहेको उनले बताए । वर्तमान सरकार संविधानको धारा ७६ (१) बहुमत, ७६ (२) मिलिजुली सरकार, ७६ (३) ठूलो दलको नेताको नेतृत्वमा सरकार र ७६ (४) निर्दलीय सरकारका चार चरण भए पनि यी कुनै चरणबिना बनेकाले असंवैधानिक रहेको उनले बताए ।
मुलुकमा शान्ति स्थापनाका लागि संसद् पुनर्स्थापना गरेर जेनजीलाई पनि समावेश गर्दै सरकार दलले बनाउनुपर्ने उनको भनाइ थियो । उनले वार्ताबाट माग सम्बोधन गर्ने र त्यसपछि चुनाव गरेपछि समस्या स्वत: समाधान हुने पनि बताए ।
