पर्यटन प्रवर्द्धनका लागि वाणगंगामा साइकल यात्रा

साइकल यात्रामा २२ जिल्लाका ४ सय बढी साइकल यात्री सहभागी थिए ।

कार्तिक २९, २०८२

मनोज पौडेल

Bicycle tour in Banganga to promote tourism

What you should know

कपिलवस्तु — जिल्लाका पर्यटकीय स्थलको प्रचारप्रसार गर्दै पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले प्रथम वाणगंगा साइकल यात्रा गरिएको छ । वाणगंगा राइडर्स क्लबको आयोजनामा शनिबार वाणगंगाको जितपुरबाट ७० किमि लामो साइकल यात्रा गरिएको हो ।

विश्व साइकल यात्री पुष्कर शाहसहित देशभरका ४ सय बढी साइकल यात्री सहभागी थिए । कपिलवस्तुको चार नम्बरबाट साइकल यात्रा सुरु भई पिपरा, सुपादेउराली मन्दिर, नन्दनगर गुरुकुल, मधुवनधाम, जिनुवा, कपिलधाम, लक्ष्मणघाट, जगदीशपुर, सगरहवा, निग्लिहवा, राजापानी र मधौली पार्क हुँदै पुनः चार नम्बरमा पुगेर सम्पन्न भएको थियो । 

साइकल यात्रीलाई ठाउँठाउँमा स्थानीयले फूलमाला र बाजागाजासहित स्वागत गरेका थिए । त्यस्तै यात्रालाई व्यवस्थित बनाउन स्थानीयले ठाउँठाउँमा खाजा र पानी वितरण र विश्रामस्थल बनाएका थिए । 

वाणगंगा नगरपालिकाका ११ वटै वडाका प्रमुख पर्यटकीय स्थल र कपिलवस्तु नगरपालिकाको वडा नं. ९ र १० मा पर्ने जगदीशपुर ताललाई समेटेर रुट तय गरिएको हो । शनिबार बिहान साढे ७ बजे सुरु भएको यात्रा सँझ साढे ५ बजे सम्पन्न भएको थियो । Bicycle tour in Banganga to promote tourism

कपिलवस्तुमा सबै खाले पर्यटकलाई आकर्षित गर्न सक्ने ठाउँ, ताल, नहर, ऐतिहासिक तथा पुरातात्विक स्थल रहेको यात्राका सहभागी मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताए ।

देशका अधिकांश ठाउँमा साइकल यात्रीलाई जोडेर आयोजित साइकल यात्राले आन्तरिक पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेलेको विश्व साइकल यात्री पुष्कर शाहले बताए । साइकल यात्राले गाउँ, प्रकृति, जीवन र स्थानीय रहनसहनसँग निकटता बढ्ने उनले बताए । 

साइकल यात्रामा २२ जिल्लाका ४ सय बढी साइकल यात्री सहभागी थिए । यात्राले यहाँका ऐतिहासिक, सांस्कृतिक, ग्रामीण र प्राकृतिक मनोरम स्थलको प्रचारप्रसारमा सहयोग पगेको वाणगंगा राइडर्स क्लबका अध्यक्ष विष्णुप्रसाद सापकोटाले बताए । साइकल यात्राको उद्घाटन लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीले गरेका थिए ।

मनोज पौडेल

Link copied successfully