गुल्मीका मुख्य फाँटहरूमा यतिबेला थ्रेसरको प्रयोगले धान भित्र्याउन निकै सहज बनाएको छ ।
What you should know
गुल्मी — धान भित्र्याउनका लागि अत्यधिक कामदार लाग्ने गरेकोमा पछिल्लो समय प्रविधिले सहज बनाइदिएको छ । ठूलो मात्रामा धान खेती गरिने फाँटमा धान भित्र्याउन कठिनाइ हुने गरेको थियो ।
गुल्मीका मुख्य फाँटहरूमा यतिबेला भने थ्रेसरको प्रयोगले धान भित्र्याउन निकै सहज बनाएको छ । इस्मा गाउँपालिका-६ अम्मरपुरको जाब्लुङ फाँटमा धान खेती गरिरहेका विमल पन्थीले २० रोपनी क्षेत्रफलमा उत्पादन गरेको ८० मुरी धान एक घण्टामै सहज रुपमा भित्र्याए । ‘यही धान झाट्न २०/२५ जना कामदार दिनभर खट्नुपर्ने अवस्था थियो,’ उनले भने, ‘अहिले त निकै सहज भएको छ, थ्रेसरबाट एक घण्टामै धान झाट्न सकिन्छ ।’ उनले धान रोप्न र काट्न भने पुरानै शैली चलिरहेको बताए ।
चौरासी फाँटमा जग्गा लिजमा लिएर धान खेती गरेका इस्मा गाउँपालिका-६ अम्मरपुरका कृष्ण घिमिरेले ८० रोपनी क्षेत्रफलमा तीन सय मुरी धान उत्पादन गरेको बताए । धान रोप्न, गोडमेल गर्न र काट्न मानवश्रम नै आवश्यक परे पनि खेत जोत्न र धान झाट्न आधुनिक प्रविधिको प्रयोगले निकै सहज भइरहेको उनले बताए । ‘पहिलेदेखि नै म व्यावसायिक खेतीमा लागेको थिएँ,’ उनले भने, ‘बिस्तारै प्रविधिले सहज बनाएको छ, धान रोप्न र काट्न पनि प्रविधि आवश्यक छ ।’
मुख्य गरी रामधान, खुमल, हंसराज, मकवानपुर, हर्दिनाथ, जडन, आँप झोते र लामे जातका धान खेती हुँदैआएको छ । जिल्लामा मुख्यगरी अर्बेनी, कनौटा, छापचौर, लिम्घा, अस्लेवा, खैरेनी, साहाघाट, चेहमी, तल्लाफाँट, इन्द्रेगौंडा, भुवाचिदी, वामीटक्सार, सिमलटारी, मदानेको सिर्सेनी, अग्लुङ्गफेँदी, पनाहाखोला र छल्दी, इस्माको चौरासी फाँट, हुलाके, छल्दीखोला, निस्ती, गरमटारी, खर्ज्याङ, टारीफाँट र घोडाहाफाँट, अगाहा र घिउँबेंसीलगायतका क्षेत्रमा धान हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
यस वर्ष प्रतिकूल मौसमले जिल्लाभरका फाँटमा दुई हजार दुई सयभन्दा बढी मेट्रिक टन धानमा क्षति पुगेको कृषि ज्ञान केन्द्रको अनुमान छ । यस वर्ष सात हजार ४८ हेक्टर क्षेत्रफलमा २४ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी कृषि प्राविधिक अधिकृत टीकाराम न्यौपानले जानकारी दिए । उनले यस सम्बन्धि स्थानीय तहसँग माग गरी तथ्यांक संकलनको काम भइरहेको बताए ।
