तानसेन नगरपालिकाद्वारा तेस्रो पटक म्याद थप्ने तयारी
What you should know
पाल्पा — विश्व बैंकको सहयोगमा स्तरोन्नति सुरु पाल्पाको डुम्रे-गुफाचौर-होलाङ्दी सडकको काम समयमा नसकिएपछि तेस्रो पटक म्याद थप्ने तयारी भएको छ। तानसेन नगरपालिकामार्फत् ठेक्का भएको यो सडकको १५ प्रतिशत काम अझै बाँकी छ।
सिद्धार्थ राजमार्गको माथिल्लो डुम्रेदेखि तानसेन नगरपालिका–१०, तेल्घाको गुफाचौर हुँदै होलाङ्दी जोड्ने गरी यो सडक निर्माणको १७ जुन २०२५ मा काम सक्नुपर्ने थियो। पहिलो चरणमा ६.८ किलोमिटर कालोपत्र र ढलानको काम हुनेछ।
तानसेन नगरपालिकाले निर्माण कम्पनी वेदान्सी इन्फ्राइन्सट्रक्चर प्रा.लि. पहिलो पटक ६७ दिन म्याद थपेको थियो। दोस्रो पटक ४६ दिनमा काम सक्ने प्रतिबद्धतासहित म्याद थपेको नगरपालिकाले जनाएको छ। दोस्रो पटक थपिएको म्याद २० अक्टोबर २०२५ अर्थात् ४ मंसिर २०८२ मा सकिन्छ। तर निर्माण व्यवसायीले कतिपय स्थानमा पर्खाल लगाउनै बाँकी छ।
स्थानीय बासिन्दा तथा वडा सदस्य केशरी राना सिंजालीका अनुसार केही दिनयता नाली खनिरहेको छ। केही स्थानमा जाली भर्ने काम भइरहेको छ। कालोपत्र गर्ने काम अझ सुरु नै भएको छैन। ‘सब–बेस, बेस लगायतको काम अझै बाँकी नै छ,’ उनले भनिन्, ‘बर्खाले बिगारेको स्थानमा समेत काम गरिरहेको छ।’
स्थानीय बासिन्दाका अनुसार निर्माण व्यवसायीले गुणस्तरीय काम नगर्दा रिजिड पेभमेन्ट (ढलान) चर्किने, भासिने समस्या भएको छ। लगाएका पर्खाल समेत भत्किएका छन्। ‘स्थानीय बासिन्दा, जनप्रतिनिधि सबैले खबरदारी गर्दासमेत निर्माण व्यवसायीले टेर्दैन,’ उनले भनिन्, ‘ठाउँठाउँमा काम राम्रो भएन भनेर धेरै पटक भनेका छौं तर पनि मानेको छैन।’ कतिपय स्थानमा ढलान नै भत्काउनु परेको छ। पर्खाल लगाउने, जाली भर्ने काममा समेत लापरवाही भएको स्थानीयको गुनासो छ।
तानसेन नगरपालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठले स्थानीयको गुनासाका आधारमा करीब १ सय ५० मिटर रिजिड पेभमेन्ट (ढलान) नै फोरेर पुनः काम गराएको बताए। उनका अनुसार निर्माण व्यवसायीले ४.४ किलोमिटर रिजिड पेभमेन्ट र २.४ किलोमिटर अस्फाल्ट कालोपत्र गर्नुपर्नेछ। ‘स्थानीयको गुनासाको र हाम्रो अनुगमनपछि निर्माण व्यवसायीलाई सुधार्न लगाएका छौं,’ उनले भने, ‘देखिएका कमीकमजोरीलाई हामीले पनि सुधारेका छौं।’
यो सडक तानसेन नगरपालिकाको नगर गौरवको योजना हो। तानसेन नगरपालिका–८, माथिल्लो डुम्रेदेखि तानसेन–१०, गुफाचौर हुँदै तानसेन–३, होलाङ्दीसम्म जोडिएको छ। तानसेन नगरपालिकाले विश्व बैंकसँग सम्झौता गरी सडक स्तरोन्नति र कालोपत्रे गर्ने गरी काम गरेको हो। नेपाल सरकारलाई विश्व बैंकको ऋण हो भने तानसेन नगरपालिकाले अनुदान पाएको छ।
यो सडक स्तरोन्नति सकिँदा प्रत्यक्ष रुपमा डुम्रे, सुनडाँडा, तेल्घा, गुफाचौर, गाबुडाँडा, बन्दीपोखरा, धरमपानीका बासिन्दाले फाइदा पाउनेछन्। सडक स्तरोन्नतिका लागि निर्माण कम्पनी वेदान्सी इन्फ्राइन्सट्रक्चर प्रा.लि.बीच ४५ करोड ७६ लाख ८३ हजारमा सम्झौता भएको छ। १३ महिनामा सक्ने गरी सडक स्तरोन्नति गर्ने गरी सम्झौता भएको हो। निर्माण व्यवसायीले भने असारदेखि भदौसम्म कालोपत्रको सामग्री (गिट्टी) नपाएको लगायतका विभिन्न बहाना गरेको छ।
यो सडकले पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गरेको तेल्घाको गुफाचौरसम्म पर्यटकलाई सहज हुने तानसेन नगरपालिका वडा नं. १० का वडाध्यक्ष हिमलाल पंगेनीले बताए। गुफाचौर आफैंमा प्राकृतिक रूपमा निर्माण भएको पर्यटकीय सम्भावना बोकेको क्षेत्र रहेकोले नगरपालिकाले यस सडकलाई पर्यटकीय मार्गको रूपमा विकास गर्न प्राथमिकतामा राखेको उनले बताए।
