घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु

गम्भीर घाइते भएका उनलाई स्थानीयले उद्धार गरी उपचारका लागि अस्पताल लगेका थिए ।

कार्तिक २७, २०८२

माधव अर्याल

One person dies after being crushed during house demolition

पाल्पा — पाल्पाको निस्दी गाउँपालिका–५, बेलडाँडामा घर भत्काउने क्रममा च्यापिएर ६३ वर्षीय टुकबहादुर सोमैको बिहीबार निधन भएको छ ।  

गल्धाको बेलडाँडा बजारमा भीमबहादुर शाहीको घर भत्काउने क्रममा च्यापिएर सोमैको निधन भएको प्रहरीले जनाएको हो । नयाँ घर निर्माणका लागि पुरानो घर भत्काउने क्रममा दोस्रो तलाको टप एक्कासि खस्दा सोमै च्यापिएको स्थानीयले बताए । उनी घरको टपसँगै खसेका थिए । 

गम्भीर घाइते भएका सोमैलाई स्थानीयले उद्धार गरी उपचारका लागि रामपुर अस्पताल लगेका थिए । उपचारका क्रममा निधन भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लालबहादुर सुनारले बताए ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully