रोल्पामा जेनजी समूहका माग छलफलद्वारा समाधान

जेनजी समूहले उठाएका मागको गाउँपालिकाको बैठकमार्फत सहमति गर्न नसकेपछि २ नम्बर वडाध्यक्ष ललित घर्ती मगरले यसअघि नै राजीनामा घोषणा गरेका थिए। अहिले सर्वपक्षीय सहमतिबाट जेनजी समूहले उठाएका मागको समाधान खोजिएको हो ।

कार्तिक २७, २०८२

काशीराम डाँगी

Demands of Genji group in Rolpa resolved through discussion

रोल्पा — माडी गाउँपालिकामा जेनजी समूहले उठाएका विभिन्न माग  छलफलका माध्यमबाट समाधान गरिएको छ। केही सातादेखि जेनजी समूहले विभिन्न माग राख्दै गाउँपालिकाको भवनमा तालबन्दीसमेत गरेका थिए।

पालिकाका जनप्रतिनिधि, राजनीतिक दल, नागरिक अगुवा एवं जेनजी समूहका सदस्यहरुबीचमा बुधबार राति अबेरसम्म भएको छलफल र सर्वपक्षीय सहमतिबाट तत्कालका लागि समस्या समाधान गरिएको हो। गाउँपालिकाका अध्यक्षसहितका जनप्रतिनिधिले जनगुनासो नसुन्ने गरेको एवं आर्थिक अपारदर्शिता गरेको आरोपसहितका विषयबारे गाउँपालिकामा गठन गरिएको जेनजी समूहले निरन्तर दबाब दिँदै आएको थियो।

जेनजी समूहले उठाएका विषयमाथि छलफल गर्न गाउँपालिकाकी उपाध्यक्ष जयपुरी घर्ती मगरको संयोजकत्वमा सर्वपक्षीय समिति गठन गरिएको थियो। लामो छलफल र बहसपछि बुधबार समाधान खोजिएको हो। समितिका सदस्य रहेका एमाले नेता प्रेमबहादुर घर्ती मगरका अनुसार सर्वपक्षीय सहमतिबाट जेनजी समूहले उठाएका मागको समाधान खोजिएको हो। गाउँपालिकाका अध्यक्ष अमरसिंह घर्ती मगर र अन्य नेताबीच बिग्रेको सम्बन्ध सुधार हुने अपेक्षा गरिएको उनले बताए ।

जेनजी समूहले उठाएका मागको गाउँपालिकाको बैठकमार्फत सहमति गर्न नसकेपछि २ नम्बर वडाध्यक्ष ललित घर्ती मगरले यसअघि नै राजीनामा घोषणा गरेका थिए। राजीनामा पत्रमा उनले जेनजी समूहले उठाएका आठबुँदे मागबारे गाउँपालिकाका अध्यक्ष गम्भीर नभएकाले आफूले राजीनामा दिनुपरेको बताएका छन्। तर उनको राजीनामा स्वीकृत भएको छैन।

रोल्पामा माडी र परिवर्तन गाउँपालिकामा जेनजी समूह गठन गर्दै युवाहरूले स्थानीय समस्यामध्ये प्राथमिकताका आधारमा समाधान गर्नका लागि दबाब दिँदै आएका छन्।

काशीराम डाँगी डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully