धारिला ढुंगामा नाच्न तन्नेरीको लर्को 

यहाँ पुगेकाले टिकटक, रिल्स, फेसबुकमा भिडियो र फोटो राखेको देखेपछि सन्धिखर्क नगरपालिका–११ डिभर्नामा रहेको ढुंगे बगैचा (रक गार्डेन) मा दैनिक भीड लाग्न थालेको छ ।

कार्तिक २६, २०८२

वीरेन्द्र केसी

The young woman's desire to dance on the sharp stone

What you should know

अर्घाखाँची — खुट्टाले टेक्दा चसक्क घोच्ने धारिला ढुंगा । जहाँ पहाडको चुचुरोमा सजिएका ढुंगा माथि टेकेर युवा पिँढीको जमात नाच्दै, हिड्दै, उभिँदै र बसेको दृश्य फोटो/भिडियो मोबाइलबाट कैद गर्छन् ।

धारिला ढुंगामा टेक्दा बिझाए पनि फोटो राम्रो खिच्न दुखाई खटाई उभिएर नाच्ने तन्नेरीको लर्को नै लागेको छ । जहाँबाट ढुंगाको बगैचासहित चारैतिरको भूगोलको सुन्दरता, पहाड, वनजंगल र बस्तीको दृश्यले पर्यटकलाई मोहित बनाउँछ ।

यहाँ पुगेकाले टिकटक, रिल्स, फेसबुकमा भिडियो र फोटो राखेको देखेपछि सन्धिखर्क नगरपालिका–११ डिभर्नामा रहेको ढुंगे बगैचा (रक गार्डेन) मा दैनिक भीड लाग्न थालेको छ ।

किमडाँडाबाट गार्डेन आइपुगेकी अञ्जु भुसालले दुई घण्टा समय ढुंगामा घुमेरै बिताइन् । उनको ध्यान अनुहार कहाँबाट कता फर्केर राम्रो भिडियो र फोटो आउँछ भन्नेमै थियो । उनले पटक–पटक मोबाइल हेर्दै बिग्रेको फोटो र भिडियो मेट्दै नयाँ खिच्नेमै समय बिताइन् ।

‘पूर्वतिर हेर्दा गुल्मीको रेसुंगासहित चारैतिर उस्तै सुन्दर दृश्य रहेछ,’ उनले भनिन्, ‘धारिला ढुंगामा टेक्दा खुट्टा बिझाए पनि भिडियो/फोटो राम्रो निकाल्न दुखाई खटाएँ । तनावको बेला यहाँ आएर रिफ्रेस हुने जस्तो ठाउँ रहेको छ । आहा ! जता हेर्‍यो उतै रमाइलो छ ।’ 

कलात्मक रुपमा मानिसले आफैं सजाएर योजना अनुसार बनाएर राखेको जस्तो देखिने ती चट्टान अनौठा प्रकृतिका छन् । प्रायः सदरमुकामा विभिन्न पेशा, व्यवसाय, रोजगार, अध्ययन गर्नेहरुको लागि यो ठाउँ राम्रो गन्तव्य बन्दै गएको छ । प्राकृतिक रुपमा रहेको चट्टान आफैं गार्डेन बनेको छ ।

ओम पोलिक्लिनका डा. खगेन्द्र आचार्य बिदाको दिनमा यही ठाउँ सम्झन्छन् । ‘ढुंगामा बसेर गाउँबस्ती, अग्ला पहाड, छिमेकी जिल्लाहरु, वनजंगल हेर्दा छुट्टै आनन्द आउँछ,’ उनले भने, ‘सरर चिसो हावा लाग्छ, ढुंगामा र चौरमा बस्दा मलाई रमाइलो लाग्यो ।’ रक गार्डेन अग्लो ठाउँमा भएकाले हिमश्रृंखला पनि देख्न सकिन्छ । प्राकृतिक संरचनालाई सरकारले संरक्षण गरेर पर्यटकीय गन्तव्य बनाउनुपर्ने उनले बताए ।

गत शनिबारको दिन घनश्याम घिमिरेले परिवारसहित दिनभर रक गार्डेनमा बिताए । बिदाको दिन भिडभाड भएकोले उनले केही समय पालो पर्खेर तस्बिरहरु खिचे । बेलुका टिकटक, फेसबुककमा भिडियो/फोटो राखेपछि त्यहाँ नगएकाले उनीसँग ठाउँको बारेमा म्यासेज र फोनमा सोधपुध गरेको उनले बताए ।

बिदाको दिन गार्डेन र चौरमा बसेर ड्राई खाजा खाँदै दिन बिताएको उनले बताए । ‘यहाँ आकर्षण प्राकृतिक सुन्दर नै हो,’ उनले भने, ‘जहाँ बस्दा रिफ्रेस भइन्छ ।’ टाढा–टाढाबाट पर्यटक दिन बिताउनै यहाँ आइरहँदा बाल्यकालदेखि यिनै ढुंगामा बसेर गाइबाख्रा चराएका स्थानीय थानेश्वर आचार्य भने दंग पर्छन् ।

‘वर्षामा जुका लाग्छन् भनेर गोठालाभरी ढुंगामा बसेर भैसी, गाइबाख्रा चराउँथ्यौं,’ उनले भने, ‘हेर्दाहेर्दै यो त पर्यटकीय गन्तव्य पो बन्यो । गाडी रिर्जब गरेर कोट लगाएका मान्छे आएर घुम्दाबस्दा, मोबाइलले फोटाहरु खिचेको देख्दा मलाई अचम्म लाग्छ ।’ 

सयौं रोपनी क्षेत्रफलमा फैलिएको यो जग्गालाई तारबार गरिएको छ । छाँगो र भीरबाट पर्यटक लड्न सक्ने ठाउँलाई सुरक्षित पारिएको छ । लुम्बिनी प्रदेश सरकार र सन्धिखर्क नगरपालिकाले यहाँ सौचालय, पानीका धारा, बस्ने ठाउँ सहित अग्लो ठाउँमा राष्ट्रिय झण्डा राखेको छ । 

केही दिनअघि डिभर्नाका प्रेम बुढाथोकीले कोल्डस्टोर पसल सञ्चालन गरेका छन् । यहाँ दिनभर भुल्ने पर्यटकलाई खाजा, खानासहित मनोरञ्जन खालका थप संरचना बनाई राम्रो पर्यटकीय गन्तव्यका पूर्वाधार निर्माण गर्न योजना अनुसार काम गरिरहेको सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । 

सुरुमा सडक निर्माणको लागि माटो ढुंगा खोज्दै जाँदा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं सन्धिखर्कका निर्माण व्यवसायी युवराज श्रेष्ठले देखपछि सरोकारवाला र सरकारी निकायलाई रक गार्डेन बनाउन सकिने सुझाव दिएका थिए । त्यसपछि यसलाई प्रचारप्रसार गर्दै सडक पुर्‍याएपछि विस्तारै तीन वर्षयता पर्यटकीय गन्तव्य बन्दै गएको छ ।

वीरेन्द्र केसी केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully