धान खरिदमा खाद्यको कुपन प्रणाली लागू

३–४ दिन लामो लाइनमा बसेर पनि पालो नपाउने समस्या देखिएपछि यो व्यवस्था गरिएको प्रमुख कमल पाण्डेले बताए।

कार्तिक २६, २०८२

कमल पन्थी

Food coupon system implemented for rice purchase

What you should know

बर्दिया — खाद्य तथा व्यवस्था व्यापार केन्द्र, राजापुरले किसानबाट दैनिक ३० बयलगाडा वा ट्याक्टर धान खरिदका लागि कुपन प्रणाली लागू गरेको छ। ३–४ दिन लामो लाइनमा बसेर पनि पालो नपाउने समस्या देखिएपछि यो व्यवस्था गरिएको प्रमुख कमल पाण्डेले बताए।

कुपन प्रणाली लागू भएपछि किसानहरूले क्रम संख्या अनुसार धान बिक्री गर्न थालिसकेका छन्। लाम लागेका किसानलाई कुपनको मिति अनुसार आउन आग्रह गरिएको छ।

खाद्य तथा व्यवस्था व्यापार केन्द्र, राजापुरले गत कार्तिक १९ गतेदेखि धान खरिद सुरु गरेको छ। प्रमुख पाण्डेका अनुसार करिब ५ हजार ८ सय २२ क्विन्टल धान खरिद भइसकेको छ। यस वर्ष केन्द्रले राजापुरबाहेक गुलरिया, शान्तिबजार र जयजगरमा पनि धान खरिद डिपो स्थापना गरेको छ।

मंगलबारसम्म राजापुरमा ४ हजार ४ क्विन्टल, शान्तिबजारमा १ हजार ४ सय ६४ क्विन्टल, जयनगरमा ३ सय ४३ क्विन्टल र गुलरियामा ३५ क्विन्टल धान खरिद भएको छ। यस वर्षको धान खरिद कोटा ३० हजार क्विन्टल तोकिएको छ।

बर्दिया जिल्लाका किसानले धान बेच्दा वडाको सिफारिस, नागरिकताको प्रतिलिपि र लालपुर्जाको प्रतिलिपि अनिवार्य रूपमा बिक्री केन्द्रमा पेश गर्नु पर्छ। केही बिचौलिया मार्फत कैलालीका किसान पनि धान बिक्री गर्न आएका थिए, जसको कारण स्थानीय किसानले विरोध गरेका छन्। उद्योग वाणिज्य संघ, राजापुरका अध्यक्ष कृष्ण रेग्मीले कैलालीका किसानको राजापुरसँग नाता सम्बन्ध रहेकाले सिफारिस लिएर आएको हुन सक्ने बताए। खाद्य केन्द्रले ती बाह्य किसानका धान फिर्ता गरेको छ।

सरकारले यस वर्ष मोटा धानको मूल्य ३ हजार ४ सय ६३ रुपैयाँ ८१ पैसा र मसिनो धान ३ हजार ६ सय २८ रुपैयाँ ३३ पैसा तोकेको छ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully