बुधबारदेखि मंसिर १० गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मका लागि यातायात आवतजावत बन्द गरेरै सडक मर्मत गरिने भएको हो ।
अर्घाखाँची — सदरमुकाम जोड्ने मुख्य सन्धिखर्क–गोरुसिंगे सडक मर्मत र स्तरोन्नति गर्न पन्ध्र दिनका लागि दिउँसोमा अधिकांश समय बन्द गरिने भएको छ । बुधबारदेखि मंसिर १० गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मका लागि यातायात आवतजावत बन्द गरेरै सडक मर्मत गरिने भएको हो ।
उक्त खण्डको सीतापुर–ठाडासम्म क्षेत्रमा मर्मत र स्तरोन्नतिको काम पावर मेसिन प्रयोग गरी कालोपत्रे गर्न सडक बन्द गराउनु परेको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताए । सन्धिखर्क–गोरुसिंगे सडकको कार्यक्षेत्र रहेको डिभिजन कार्यालय शिवपुरका इन्जिनियर सहितको सरोकारवाला निकायसँगको बैठकमा सडकको गुणस्तरियतालाई सुनिश्चित गर्न र निर्माण कार्य छिटो सम्पन्न गर्न दिउँसोमा सडक बन्द गर्ने निर्णय गरिएको उनले बताए ।
सडक डिभिजन कार्यालयका इन्जिनियर सन्तोष आचार्यले आवश्यकता अनुसार बीचबीचमा यातायात आवतजावत खोल्न सकिने पनि उनले बताए । अहिले १० किमि सडकलाई मर्मत र स्तरोन्नति गरिने उनले बताए । पन्ध्र दिनसम्म बिहान १० देखि ४ बजेसम्म मात्रै मेसिनले काम गर्ने र अरु समय यत्तिकै यातायात नियमित सुचारु हुने उनले बताए । सदरमुकाम आवतजावत गर्न अन्य वैकल्पिक सडक छैन ।
