अबको केही दिनमा उखु काट्ने तयारीमा रहेका किसानले न्यूनतम समर्थन मूल्य निर्धारण गर्न सरकारसँग माग गरेका हुन् ।
परासी — पश्चिम नवलपरासीका उखु किसानले तत्काल न्यूनतम समर्थन मूल्य तोक्न माग गरेका छन् ।
अबको केही दिनमा उखु काट्ने तयारीमा रहेका किसानले न्यूनतम समर्थन मूल्य निर्धारण गर्न सरकारसँग माग गरेका हुन् । यस वर्ष पनि सरकारले समयमा नै न्यूनतम समर्थन मूल्य नतोकेपछि किसान समस्यामा छन् । ‘जसको सरकार आए पनि किसानको समस्यामा गम्भीर भएको पाइएन । हरेक वर्ष मूल्य ढिलो तोक्दा किसान मर्कामा परिरहेका छन्,’ प्रतापपुरका किसान जगदीश चौधरीले भने ,‘सरकारले तत्कालै किसानको पसिना र लगानी उठ्ने गरेर मूल्य तोक्नु पर्यो, अनि अनुदान रकम पनि बढाउनु पर्यो ।’
किसानहरूले क्रसरमा उखु बिक्री गर्न सुरु गरिसकेकाले सरकारले तत्कालै मूल्य निर्धारण गर्नुपर्ने प्रतापपुर गाउँपालिका अध्यक्ष एवम् उखु उत्पादक कृषक समिति लुम्बिनी प्रदेशका संयोजक उमेशचन्द्र यादवले बताए । उत्पादन लागतअनुसार प्रतिक्विन्टल ८ सय रुपैयाँ मूल्य तोक्नुपर्ने यादवले बताए ।
विगतका वर्षहरूको तुलनामा यस वर्ष जिल्लामा उखु उत्पादन घट्दै गएको छ । यस वर्ष नवलपरासीमा करिब १० देखि १२ लाख क्विन्टल मात्र उखु उत्पादन हुने अनुमान छ ।
जिल्लामा लुम्बिनी, बागमती र इन्दिरा सुगर सञ्चालनमा छन् । सरकारले गत वर्ष ५ सय ८५ रुपैयाँ प्रतिक्विन्टल उद्योगले र ७० रुपैयाँ सरकारले अनुदान दिने गरेर मूल्य तोकेको थियो । तर , पछि अर्थ मन्त्रालयले स्रोत नभएको भन्दै अनुदान रकममा कटौती गरेपछि किसान आन्दोलित भएका थिए ।
