पाल्पाका दुई दर्जन गाउँबस्ती अझै पनि आधारभूत सञ्चार सुविधाबाट वञ्चित

‘फोर जी चलाउने कुरै छाडौं, मोबाइलबाट सम्पर्क गर्नसमेत समस्या छ,’ निस्दी गाउँपालिकाका लेखा अधिकृत सरोज काफ्लेले भने, ‘अझ मौसम बिग्रियो भने त हामी सम्पर्कविहीन जस्तै बन्नुपर्छ ।’

कार्तिक २४, २०८२

माधव अर्याल

Two dozen villages in Palpa still deprived of basic communication facilities

What you should know

पाल्पा — पाल्पाका दुई दर्जन गाउँबस्ती अझैसम्म आधारभूत सञ्चार सुविधाबाट वञ्चित छन् । निस्दी गाउँपालिकाको मित्याल, गल्धा, झिरुवास, सहलकोट, ज्यामिरेका दर्जन बढी गाउँमा अझै पनि टेलिकमको सेवा पुगेको छैन ।

माथागढी गाउँपालिकाको गोठादी, हात्तीलुङ, रहवास र बहादुरपुरका केही गाउँबस्तीमा पनि सहज सञ्चार सुविधा छैन । तिनाउ गाउँपालिकाको वडा नम्बर ५ को केराबारी, २४ माइल लगायतका स्थान सञ्चार सम्पर्कविहीन छन् । रैनादेवी छहरा गाउँपालिकाको बल्ढेङ्गढी, सत्यवती र जुठापौवाका आधा दर्जन बढी बस्तीमा अहिले पनि सञ्चारसम्पर्क गर्न कठिनाइ छ । 

यी बाहेक जिल्लाका कतिपय बस्तीमा टेलिकमको सेवा नपुग्दा सञ्चार सम्पर्क छैन । ‘सिद्धार्थ राजमार्गको हाइवे क्षेत्रमा समेत सञ्चार सम्पर्कविहीन छौं,’ तिनाउ गाउँपालिका–५, केराबारीका जोगबहादुर थापाले भने, ‘धेरै पटक नेपाल टेलिकममा गुनासो गर्न पुगियो । पाल्पामा आउने सबै प्रमुख जिल्ला अधिकारीलाई पनि जानकारी गराइयो । समाधान वर्षौंदेखि हुन सकेको छैन ।’

प्रमुख पर्यटकीय स्थलका रूपमा परिचित निस्दी गाउँपालिकाको काउलेडाँडा, धार्केसिङ, खादर क्षेत्रमा टेलिकमको टावर नै नटिप्ने समस्या छ । निस्दी गाउँपालिका रहेको रुक्सेभन्ज्याङमा मोबाइल बोकेर बाहिर निस्कनुपर्ने बाध्यता छ । ‘फोर जी चलाउने कुरै छाडौं, मोबाइलबाट सम्पर्क गर्नसमेत समस्या छ,’ निस्दी गाउँपालिकाका लेखा अधिकृत सरोज काफ्लेले भने, ‘अझ मौसम बिग्रियो भने त हामी सम्पर्कविहीन जस्तै बन्नुपर्छ ।’ उनका अनुसार निस्दीका धेरै गाउँबस्तीका बासिन्दाले सहज सञ्चार सुविधा पाउन सकेका छैनन् । 

निस्दीका स्थानीय बासिन्दा मनोरथ अर्यालले सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई खुला पत्र लेख्दै अझै पनि आधारभूत सञ्चार सुविधा नपुगेको वास्तविकता उजागर गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हामीकहाँ (निस्दी गाउँपालिकाका धेरै स्थान) अहिले पनि नेपाल टेलिकमको ‘नमस्ते’ सेवा चल्दैन । टेलिकम सेवाको सिग्नल खोज्न मानिसहरू पहाडको टुप्पोमा पुग्छन् र कहिलेकाहीँ आमाहरू सन्तानको आवाज सुन्न रुखमा चढ्छन् । सहरमा ‘फ्री वाइफाइ’ को चर्चा छ, तर गाउँमा फोन सिग्नल पनि सपना बनेको छ ।’

उनले निस्दी गाउँपालिकाका वडा नम्बर ४, ५ र ६ मा सञ्चार पहुँचको अवस्था दयनीय रहेको उल्लेख गर्दै, नेपाल टेलिकमका जीर्ण टावरहरू मर्मत गर्ने र नयाँ टावर निर्माणको पहल गर्न आग्रह गरेका छन् । विद्यालय र शिक्षकहरूलाई सस्तो दरमा इन्टरनेट सुविधा उपलब्ध गराउनुपर्ने र दुर्गम गाउँमा पनि समान सञ्चार अधिकार सुनिश्चित गर्नुपर्ने उनले सामाजिक सञ्जालमार्फत माग गरेका छन् । ‘सहरमा मात्र होइन, पहाड र गाउँमा पनि नेपाल बाँचिरहेको छ । कृपया दुर्गम आवाज सुन्ने कान बन्नुहोस् र हाम्रो जीवनमा सञ्चारको उज्यालो ल्याइदिनुहोस्,’ उनले लेखेका छन् । 

निस्दी गाउँपालिका–३, धार्केसिङका दमनबहादुर थापा मगरका अनुसार टेलिफोन टावरका लागि १० वर्षदेखि कुरा राखे पनि समाधान हुन सकेको छैन । ‘दैनिक ५ सय बढी पर्यटक काउलेडाँडा आउने गर्छन्,’ उनले भने, ‘फोन गर्थे फोर जी चलाउँथे तर सम्पर्कविहीन जस्तै बनेर फर्किनुपर्छ ।’ आफ्नो घरमा कहिलेकाहीँ टावर टिप्ने अधिकांश समय सञ्चारको सहज माध्यम वाइफाइ नै भएको उनले बताए । टेलिकमका प्रमुख, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका नेता सबैलाई यस विषयमा जानकारी गराए पनि सुनुवाइ नभएको उनको गुनासो छ । 

नेपाल टेलिकम पाल्पाका प्रमुख हेमन्तकुमार लालकर्णले गुनासो आए पनि नआए पनि कम्तीमा तीन महिनामा डाइभ टेस्ट गर्नुपर्नेमा अहिले लामो समयदेखि नभएकाले कतिपय स्थानबाट गुनासो आएको बताए । ‘टावर नै नटिपेको स्थानका लागि नयाँ बीटीएस जडानका लागि माग गरिएको छ,’ उनले भने । यस वर्ष पूर्वखोला र माथागढीमा नयाँ बीटीएस जडान भएको उनले बताए । पूर्वखोलाको चालु भइसकेको र माथागढीको चालु भएपछि धेरै समस्या समाधान हुने उनले बताए ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully