बेपत्ता बालिकाको शव मर्थी खोलामा

आफ्ना ५ वर्षे दाजुसँग शनिबार घरबाट बाहिर खेल्न निस्किएका बेला अमितकुमार ओझाकी छोरी मान्सा बेपत्ता भएकी हुन् ।

कार्तिक २४, २०८२

मनोज पौडेल

Missing girl's body found in Marthi River

कपिलवस्तु — मायादेवी गाउँपालिका–१, पकडीस्थित घरबाट बेपत्ता भएकी दुई वर्षीया बालिकाको शव मर्थी खोलामा फेला परेको छ । बालिका बेपत्ता भएको ४८ घन्टापछि सोमबार उनको शव फेला परेको हो ।

आफ्ना ५ वर्षे दाजुसँग शनिबार घरबाट बाहिर खेल्न निस्किएका बेला अमितकुमार ओझाकी छोरी मान्सा बेपत्ता भएकी हुन् । दुई दिनदेखि प्रहरीले स्थानीय खोला, तलाउ र झाडीमा खोजतलास गरिरहेको थियो । स्थानीय र आफन्तसँग सोधपुछ गरिरहेको थियो । 

कार्तिक २४ गते प्रहरीले नजिकका खोला र नदीमा खोजतलास गर्ने क्रममा बालिकाको शव घरदेखि ३ किमि दक्षिण मायादेवी गाउँपालिका–१ र शुद्धोदन गाउँपालिका–६ को सीमामा पर्ने मर्थी खोलामा फेला परेको जिल्ला प्रहरीका सूचना अधिकारी तथा डीएसपी रिपेन्द्रकुमार सिंहले बताए ।

बालिकाको शव नदीमा घोप्टो परेको अवस्थामा फेला परेको थियो । घटनबारे प्रहरीले गहन अनुसन्धान थालेको डीएसपी सिंहले बताए ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully