जिल्ला समन्वय समिति अध्यक्ष ज्ञानेन्द्रकुमार चौधरीका अनुसार सीमा क्षेत्रमा यस संस्थाको उपस्थिति र सक्रियताले धेरै चेलीबेटी जोखिमबाट जोगिएका छन् । यद्यपि, अझै धेरै सचेतनाको काम गर्न बाँकी छ ।
नेपालगञ्ज — मानव बेचबिखनविरुद्ध संस्थाले ४० जिल्लाका झन्डै ४ सय जनाको उद्धार गरेको छ। मानव बेचबिखनविरुद्ध सक्रिय संस्था शान्ति पुन:स्थापना गृह नेपालगन्जले गत आर्थिक वर्ष २०८१/८२ मा ४० जिल्लाका ३ सय ९५ जनाको उद्धार गरेको हो ।
सोमबार नेपालगञ्जमा आयोजित संस्थाको वार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रममा उक्त जानकारी दिइएको हो । गृहले सोही अवधिमा ९ हजार ३ सय ७९ जनालाई सीमा क्षेत्रमा सूचना तथा परामर्श दिएको र चार जना भारतीय नागरिकको समेत उद्धार गरेको तथ्याङ्क प्रस्तुत गरेको थियो ।
‘हाम्रो आह्वान मानव बेचबिखनविरुद्धको अभियान’ नाराका साथ सञ्चालित संस्थाले लेखा परीक्षणमार्फत आफ्ना गतिविधिको कार्यसम्पादन, पारदर्शिता र जवाफदेहितामाथि छलफल गरेको हो । कार्यक्रममा गत वर्ष हासिल उपलब्धि, चुनौती र आगामी वर्षका योजनाबारे प्रस्तुतीकरण गरिएको थियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका अध्यक्ष ज्ञानेन्द्रकुमार चौधरीले मानव बेचबिखन नियन्त्रणमा संस्थाको प्रयास प्रशंसनीय रहेको बताए । उनले भने,‘सीमा क्षेत्रमा यस संस्थाको उपस्थिति र सक्रियताले धेरै चेलीबेटी जोखिमबाट जोगिएका छन् । यद्यपि, अझै धेरै सचेतनाको काम गर्न बाँकी छ ।’
यस्तै, सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी र राष्ट्रिय मानव अधिकार आयोगका कार्यकारी प्रमुख द्वारिका अधिकारीले संस्थासँगको सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा संस्थाका अध्यक्ष शान्ता सापकोटाले सरोकारवाला निकायको निरन्तर सहयोगले गर्दा नै जटिल परिस्थितिमा पनि उद्धार र पुन:स्ठापना सम्भव भएको बताइन् ।
