जेनजी प्रदर्शनमा आगजनी, ढुङ्गामुढा र तोडफोड गर्ने नौ जना पक्राउ

ट्राफिक प्रहरी कार्यालयमा आगजनी, लुटपाट र चोरी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको डीएसपी शाहले बताए ।

कार्तिक २३, २०८२

दुर्गालाल केसी

Nine arrested for arson, stone-pelting, and vandalism during Genji protest

दाङ — भदौ २३ र २४ गते जेनजी आन्दोलन र प्रदर्शनका क्रममा घोराहीमा आगजनी, ढुङ्गामुढा, तोडफोड, लुटपाट तथा चोरी गरेको आरोपमा प्रहरीले आइतबार नौ जनालाई पक्राउ गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, घोराहीमा आगजनी, लुटपाट, चोरी घटनामा संलग्न आठ र घोराही-१५, भानु चोकस्थित प्रहरी बिटमा ढुङ्गामुढा, तोडफोड तथा आगजनी गर्ने एक जनालाई पक्राउ गरिएको हो ।

पक्राउ परेका व्यक्तिमध्ये ट्राफिक प्रहरी कार्यालयमा आगजनी गर्नेलाई पाँच र प्रहरी बिट आगजनी गर्नेलाई दाङ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहले बताए ।

पक्राउ पर्नेमा घोराही-१५ का २४ वर्षीय सुनिल थापा मगर, २४ वर्षीय कुनाल श्रेष्ठ, २४ वर्षीय  ईनाहित कुरेसी, १८ वर्षीय टेकम डाँगी र १८ वर्षीय विवेक पुन मगर छन् । यसैगरी सल्यानको शत्रेश्वरी गाउँपालिका-४ का २६ वर्षीय अमरबहादुर वली, घोराही-१३ का २९ वर्षीय महेश घिमिरे र घोराही-९ ढीकपुरका ३४ वर्षीय शरद बस्नेत पक्राउ परेका छन् ।

उनीहरूलाई ट्राफिक प्रहरी कार्यालयमा आगजनी, लुटपाट र चोरी गरेको आरोपमा पक्राउ गरेको डीएसपी शाहले बताए । यसैगरी भानु चोकस्थित प्रहरी बिटमा ढुङ्गामुढा, तोडफोड तथा आगजनी गरेको आरोपमा घोराही-१३ का  २५ वर्षीय सन्दीप घर्ती पनि पक्राउ परेका छन् ।

आन्दोलनका क्रममा सार्वजनिक तथा सरकारी सम्पत्तिमा क्षति पुर्‍याउने अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले बताएको छ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully