जिल्लाभित्रका युवकयुवतीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले कपिलवस्तु डान्स आइडलका विजेतालाई १ लाख २१ हजार १ सय २१ रुपैयाँ र चाँदीको टोपी प्रदान गरिनेछ । त्यस्तै दोस्रो र तेस्रो हुनेलाई क्रमशः ८१ हजार १ सय ८१ रुपैयाँ र ६१ हजार १ सय ६१ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
What you should know
कपिलवस्तु — १६ औं कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी हुने भएको छ । जीतपुर चार नम्बरस्थित बुद्ध रंगशालामा मंसिर १८ देखि पुस १ गतेसम्म हुने महोत्सवको तयारीबारे आयोजक समितिले पत्रकार सम्मेलन गरी महोत्सवबारे आन्तरिक तयारी पूरा भएको जानकारी गराएको हो ।
युवालाई स्थानीय व्यवसाय प्रवर्द्धनमा स्वदेशमै राम्रो सम्भावना र अवसर देखाउन कृषि, उद्योग र पर्यटनसँग सम्बन्धित उत्पादन तथा प्रविधि प्रदर्शनी गरिनेछ । त्यस्तै सांस्कृतिक कार्यक्रम, व्यापार मेला र मनोरञ्जनात्मक गतिविधि प्रदर्शन गरिनेछ । लागूऔषध दुव्यर्सनविरुद्ध सचेतना कार्यक्रम, जिल्लाको पर्यटन प्रवर्द्धन र शैक्षिक गतिविधि पनि प्रदर्शन गरिनेछ ।
वाणगंगा वेलफेयर सोसाइटीद्वारा आयोजित पत्रकार सम्मेलनमा महोत्सवको आन्तरिक तयारी सकेर भौतिक संरचना निर्माण थालिएको सोसाइटीका अध्यक्ष राजकुमार खाँणले बताए । महोत्सवमार्फत जिल्लाको ऐतिहासिक, सामाजिक, आर्थिक र सांस्कृतिक पहिचानलाई प्रदेश र राष्ट्रिय स्तरमा प्रवर्द्धन गरेर पहिचान स्थापित गर्ने उद्देश्य रहेको उनले बताए ।
‘कृषि, उद्योग, पर्यटन तथा खेलकुदमा लगानी, युवाको हातमा सुनौलो बिहानी’ नाराका साथ जिल्लाका सम्भावना र अवसरलाई प्रदेशभर चिनाउने माध्यम बनाउने गरी महोत्सवको तयारी भइरहेको आयोजक संस्था वाणगंगा वेलफेयर सोसाइटीका महासचिव बुद्धिबहादुर रोकाहा क्षेत्रीले बताए ।
महोत्सवको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउने गरी तयारी गरिएको पनि उनले जनाए । निजी सेक्युरिटी कम्पनीसँग सम्झौता गरी ४० जना सुरक्षाकर्मी परिचालन, सीसी क्यामरा जडान र ड्रोनमार्फत निगरानी गरिने भएको छ । त्यस्तै स्थानीय प्रहरी, सशस्त्रसँग समन्वय र सय बढी स्वयंसेवक परिचालन गरिनेछ ।
विशेष आकर्षण कपिलवस्तु डान्स आइडल
त्यस्तै महोत्सवको विशेष आकर्षणका रूपमा १४औं कपिलवस्तु डान्स आइडल प्रतियोगिता हुने भएको छ । जिल्लाभित्रका युवकयुवतीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताका विजेतालाई १ लाख २१ हजार १ सय २१ रुपैयाँ र चाँदीको टोपी प्रदान गरिनेछ । त्यस्तै दोस्रो र तेस्रो हुनेलाई क्रमशः ८१ हजार १ सय ८१ रुपैयाँ र ६१ हजार १ सय ६१ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
