समावेशी ग्रामीण विकास परियोजना कोइकामार्फत कोरियाली सरकारले ८० लाख अमेरिकी डलरको कूल लगानीका साथ पाँच वर्षे पहल परियोजना बर्दियामा सुरु भएको हो ।
What you should know
नेपालगञ्ज — कोरियाली अन्तर्राष्ट्रीय सहयोग निगम (कोइका)ले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहकार्यमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरुवात गरेको छ ।
समावेशी ग्रामीण विकास परियोजना कोइकामार्फत कोरियाली सरकारले ८० लाख अमेरिकी डलरको कूल लगानीका साथ पाँच वर्षे पहल परियोजना बर्दियामा सुरु भएको हो ।
समावेशी ग्रामीण विकास परियोजना, बर्दियाको परियोजना निर्देशक समितिको प्रथम बैठक र सुभारम्भ समारोह नेपालगञ्जमा गरिएको थियो । बैठकले बर्दिया जिल्लाका समुदायको सुधारिएको कृषि मूल्य शृंखला र पर्यावरणीय पर्यटन मूल्य शृंखलाको माध्यमद्वारा बर्दिया जिल्लामा समुदायको जीवनस्तर र ग्रामीण अर्थतन्त्र सुधार गर्नका साथै, स्थानीयद्वारा पहल गरिएको, समावेशी र दिगो विकासका लागि लागि महत्त्वपूर्ण सुरुवात गरेको छ ।
बर्दिया जिल्लाका ६ नगरपालिका र २ गाउँपालिका र बर्दिया राष्ट्रिय निकुन्जका तर्फबाट उक्त पालिकाहरु र राष्ट्रिय निकुन्जमार्फत कार्यान्वयन हुने कार्यक्रमहरुको परिचय का साथै स्थानीय तहका तर्फबाट र राष्ट्रिय निकुन्जका तर्फबाट परियोजाना सफलतापूर्वक सञ्चालन गर्नको लागि गर्नुपर्ने जिम्मेवारी र प्रतिबद्वताहरु प्रस्तुत गरिएको थियो ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी उपसचिव निता पोखरेल अर्यालले नेपाल र कोरियाबीचको लामो समयदेखिको मित्रतालाई स्मरण गर्दै स्वास्थ्य, शिक्षा, कृषि र क्षमता निर्माण जस्ता क्षेत्रहरूमा नेपालको विकासलाई सहयोग गर्न कोइकाको महत्त्वपूर्ण भूमिका रहेकोमा प्रशंसा गरिन् ।
देशीय निर्देशक कोङ मुहेनले कोइका र नेपाल सरकारबीचको निरन्तर सहकार्यको लागि गहिरो प्रशंसा व्यक्त गरे । उनले यो परियोजनाले समावेशी र दिगो विकास मार्फत ग्रामीण जीविकोपार्जन सुधार गर्ने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने कुरामा जोड दिए ।
