प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट

तिलोत्तमा नगरपालिका–१५ सखुवानीस्थित सिद्धार्थ राजमार्गको सर्भिस लेनमा विभिन्न मोडेलका आइफोन फेला परेको प्रहरीले जनाएको छ ।

कार्तिक २१, २०८२

घनश्याम गौतम

When police saw him, he threw away his bag and ran away, 31 iPhone sets were found.

बुटवल — इलाका प्रहरी कार्यालय बुटवलले अवैध रूपमा नेपाल भित्र्याइँदै गरेका ३१ थान आइफोन मोबाइल सेट  बरामद गरेको छ ।

गएराति साढे ९ बजेतिर रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ सखुवानीस्थित सिद्धार्थ राजमार्गको सर्भिस लेनमा बेवारिस अवस्थामा फेला परेको झोलामा विभिन्न मोडेलका ३१ थान आइफोन फेला परेको प्रहरीले जनाएको छ । बरामद गरिएका मोबाइलको अनुमानित मूल्य करिब १६ लाख ६५ हजार रुपैयाँ बराबर रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) इन्द्र रानाले बताए ।

प्रहरीका अनुसार, प्रहरी टोली देखेपछि मोबाइल बोकेका व्यक्तिहरू झोला फ्याँकेर फरार भएका थिए। प्रहरीले बरामद गरिएका सामानका सम्बन्धमा आवश्यक कागजात नपाएको र कोही सम्पर्क नआएका कारण ती मोबाइल भैरहवा भन्सार कार्यालयमा बुझाएको छ ।

त्यस्तै, प्रहरीले भन्सार चोरी तस्करीमार्फत नेपाल भित्र्याइएका अन्य सामान पनि बरामद गरेको छ। ती सामानमा जिन्स पाइन्ट ९४ थान, कुर्ता सेट ८४ थान, सल १६ थान, मोजा १०८ जोर, कुर्ता १६ थान, गुल मञ्जन ४८ पिस र केराउका २ बोरा रहेका छन्। यी सबैको मूल्य करिब ९० हजार रुपैयाँ बराबर हुने अनुमान गरिएको छ।

घनश्याम गौतम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully