थपिएको म्यादअनुसार निर्माण कम्पनीले २०८२ कात्तिक ३० गतेसम्म पहिलो चरणको काम सक्नुपर्ने थियो । तर कामको प्रगति भने ५७ प्रतिशतबाट अघि बढेको छैन ।
What you should know
पाल्पा — तानसेन नगरपालिका–५, वनदेवी क्षेत्रमा निर्माणाधीन नयाँ बसपार्क निर्माण व्यवसायीलाई थप गरेको म्याद सकिन लाग्दा भौतिक प्रगति ५७ प्रतिशत रहेको छ । नयाँ बसपार्कको पहिलो चरणअन्तर्गत स्वयम्भु–रेडअर्थ–हमाल जेभी कन्ट्रक्सनले ठेक्का लिएको कामको वित्तीय प्रगति ४३ प्रतिशत छ ।
नयाँ बसपार्क निर्माणको पहिलो चरणअन्तर्गत २२ महिना अर्थात् ६ पुस २०८१ सम्म काम सक्ने गरी निर्माण व्यवसायीसँग ७ वैशाख २०८० मा सम्झौता भएको हो । व्यवसायीले म्याद सकिएको एक वर्ष बित्दासम्म जम्मा ५७ प्रतिशत भौतिक प्रगति भएको तानसेन नगरपालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठले बताए । थपिएको म्यादअनुसार निर्माण कम्पनीले २०८२ कात्तिक ३० गतेसम्म पहिलो चरणको काम सक्नुपर्ने थियो । तर कामको प्रगति भने ५७ प्रतिशतबाट अघि बढेको छैन ।
ठेक्का सम्झौता भएको एक वर्षसम्म निर्माण व्यवसायीले कामलाई गति नदिएकाले अहिले ढिलाइ भएको तानसेन नगरपालिकाले जनाएको छ । सुरुमा व्यवसायीले विभिन्न बहानामा निर्माण कार्यमा ढिलासुस्ती गरेकाले कामले गति लिन नसकेको हो । तानसेन नगरपालिकाले तानसेन–ढुंगाखानी (रिडी) सडक खण्डको वनदेवी क्षेत्रमा ४ दशमलव ९८ हेक्टर क्षेत्रफलमा बसपार्क निर्माणको योजना अघि बढाएको थियो । बसपार्कका लागि नगर विकास कोषको ७० प्रतिशत ऋण सहयोगमा काम अघि बढाएको हो ।
निर्माण व्यवसायीले डिजाइन र निर्माण सामग्रीको काम गर्न धेरै समय लगाएकाले निर्माणमा ढिलाइ हुन गएको नगरपालिकाका इन्जिनियर शिव शर्माले बताए । उनका अनुसार कन्सल्टेन्टले गरेको डिजाइनअनुसार निर्माण व्यवसायीले काम गर्न नसक्दा केही समस्या आएको थियो । ‘सुरुमा गुरुयोजनामा केही काम सच्याउनुपर्दा काममा केही ढिलाइ भएकाले म्याद थप गरिएको हो,’ उनले भने, ‘अहिले काम गर्न व्यवसायीलाई कुनै समस्या छैन ।’
नगरपालिकाले विगतमा बसपार्क निर्माणस्थलको पहिचान गर्न नसक्दा ठूलो धनराशि गुमाउनु परेको थियो । अहिले ठेक्का भएको काममा निर्माण कार्यको नियमन तथा अनुगमन समया नगर्दा निर्माण व्यवसायीले काममा ढिलाइ गरेको स्थानीय बासिन्दाको आरोप छ । नयाँ बसपार्कको कामलाई तदारुकता दिन माग गर्दै वडाध्यक्ष रामबहादुर रावलको नेतृत्वमा तानसेन नगरपालिकामा ज्ञापनपत्रसमेत बुझाएका छन् । बसपार्क निर्माणको काम भइरहेको केही ढिला भए पनि अब तीव्रता पाउने नगरप्रमुख सन्तोषलाल श्रेष्ठले प्रतिक्रिया दिए । डिजाइन र निर्माणको काम एउटै कम्पनीले गरेकाले प्रारम्भिक चरणमा केही ढिला भए पनि अब कामले तीव्रता पाउने उनले बताए ।
पहिलो चरणमा धेरै प्राविधिक कामहरु गर्नुपर्ने भएकाले निर्माण कार्यको पक्षमा केही कम भएको दाबी नगरपालिकाको छ । डिजाइन र निर्माण कार्यका लागि आवश्यक सामग्री बनाउने काम सकिएको निर्माण व्यवसायीले जनाएको छ । पहिलो चरणको काम भएकाले धेरै समय डिजाइन र सामग्री बनाउनमै खर्चिनु परेको इन्जिनियर शर्माले बताए ।
प्रदेशको सबैभन्दा सुविधा सम्पन्न बसपार्क बन्ने दाबी नगरपालिकको छ । नगर विकास कोषको ७० प्रतिशत ऋण सहयोगमा निर्माण कार्य अगाडि बढेको हो । जसमा ३० प्रतिशत नगर सरकारको सह लगानी रहेको छ । दुई चरणमा गरी ४८ करोडको लागतमा बसपार्क निर्माण हुने विस्तृत परियोजना प्रतिवेदनमा छ । तर नगरपालिकाले दुई चरणमा गरेर निर्माणको कार्य अगाडि बढाएको छ । पहिलो चरण अन्तर्गत २० करोड ३५ लाखको ठेक्का लागेकामा १८ करोड १३ लाखमा सम्झौता भएको छ ।
अत्याधुनिक प्रविधिद्वारा अहिले बलियो माटोको पर्खाल(आरई वाल)को काम सकिने क्रममा छ । आरई वाल रुपन्देहीको मणिग्राममा निर्माण गरेर तानसेन ल्याइएको छ । पहिलो चरणको कामअन्तर्गत १८ बस अट्ने क्षमताको टर्मिनल, व्यवसाय प्रयोगजनका लागि तीन सटर, एक सार्वजनिक शौचालय, प्रशासनिक भवन र पार्क निर्माण हुने इन्जिनियर श्रेष्ठले बताए ।
दोस्रो चरणमा व्यवस्थित बसपार्कसहित पेट्रोल पम्प, अटोभिलेज, सुपरमार्केटकोसमेत प्रस्ताव गरिएको छ । व्यवस्थित बसपार्क काठमाडौं नयाँ बसपार्कको मोडलमा निर्माण हुन लागेको उनले बताए । साना तथा ठूला सवारीसाधन पार्किङको टर्मिनल, सवारीसाधन निर्माण गर्ने ग्यारेज, यात्रुका लागि आवश्यक सहायता कक्ष, यातायात व्यवसायी कम्पनीका कार्यालय राख्ने योजनासहित बसपार्क निर्माणको काम अघि बढेको उनले बताए ।
तानसेनमा ४२ वर्षअघि निर्माण भएको अहिलेको बसपार्क साँघुरो भएको छ । नयाँ निर्माणाधीन बसपार्क पुग्न पुरानो बसपार्कबाट दुई किलोमिटर टाढा छ । १८ वर्ष अघिदेखि बसपार्क बनाउने योजना अघि बढेको थियो । २०५९ सालमा विश्व बैंकले सहयोग गर्न खोज्दा विवादका कारण बसपार्कको जग्गा टुंगो लाग्न नसक्दा काम अघि बढेको थिएन ।
नयाँ बसपार्क निर्माणका लागि १ हजार २ सय ७२ सल्ला र अन्य २० रुख कटिएको थियो । वन क्षेत्र प्रयोग गरेबापत एक रुख काटेमा एक बराबर २५ रुख बिरुवा लगाउन जग्गा खरिद गरी सरकारलाई हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ । अहिले तानसेनमा बस, जिप, ट्रकलगायतको अस्तव्यस्त पार्किङ छ ।
