मुख्यमन्त्री आचार्यको घर तोडफोड र आगजनीको आरोपमा पक्राउ परेका तीनै जना थुनामुक्त

बुधबार प्रहरीले भूमिकास्थान नगरपालिका–१ घर भई हाल सन्धिखर्क नगरपालिका–२ घोचेखोला बस्ने गुरुदेव खनाल, सन्धिखर्क नगरपालिका–२ भक्तिटोलाका पुष्पलाल गौडेल र सोही वडाको कुर बस्ने चूरामणि ढुंगानालाई पक्राउ गरेको थियो ।

कार्तिक २०, २०८२

वीरेन्द्र केसी

All three arrested on charges of vandalizing and arson of Chief Minister Acharya's house released from custody

अर्घाखाँची — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको सन्धिखर्कस्थित हटारीमा रहेको घरमा आगलागी र तोडफोडमा संलग्न रहेको आरोपमा पक्राउ गरेका तीन जनालाई अर्घाखाँची अदालतले थुनामुक्त गरेको छ । 

जिल्ला न्यायाधीश शिवलाल पाण्डेयको एकल इजलासले भदौ २४ गतेको जेन–जी प्रदर्शनमा तीनै जना आगजनी गर्ने तथा आगजनी गर्न उस्काउने, दुरुत्साहन गर्नेजस्ता काममा भिडियो र फोटाहरूमा नदेखिएकाले म्याद थप गरेर अनुसन्धान गर्न नपर्ने फैसला गरेपछि बिहीबार उनीहरू छुटेका हुन् । 

बुधबार प्रहरीले भूमिकास्थान नगरपालिका–१ घर भई हाल सन्धिखर्क नगरपालिका–२ घोचेखोला बस्ने गुरुदेव खनाल, सन्धिखर्क नगरपालिका–२ भक्तिटोलाका पुष्पलाल गौडेल र सोही वडाको कुर बस्ने चूरामणि ढुंगानालाई पक्राउ गरेको थियो । 

मुख्यमन्त्री आचार्यकी श्रीमती दीपा आचार्यले घर आगजनी र तोडफोड गरेको भन्दै खनाल, गौडेल र ढुंगानासहित ११ जनाविरुद्ध जिल्ला अदालत अर्घाखाँचीमा जाहेरी दिएकी थिइन् । भदौ २४ गते जेन–जी प्रदर्शनमा सन्धिखर्क हटारीस्थित मुख्यमन्त्री आचार्यको घरमा तोडफोड र आगजनी भएको थियो । त्यही जाहेरीका आधारमा प्रहरीले अनुसन्धानका लागि तीन जनालाई बुधबार बजारबाट आपराधिक उपद्रवसम्बन्धी कसुरमा नियन्त्रणमा लिएको थियो ।  

अदालतको जोहरीमा घर तोडफोड र आगलागी हुँदा घरभित्रका सामान जलेर नष्ट हुँदा ३५ लाख ५३ हजार र भौतिक संरचना बस्न नमिल्ने गरी ६० लाख रुपैयाँ क्षति भएको उल्लेख छ ।

वीरेन्द्र केसी केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully