मुख्यमन्त्रीको घर आगजनी र तोडफोड गरेको आरोपमा तीन युवा पक्राउ

उनीहरूलाई आपराधिक उपद्रवसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरिएको र थप अनुसन्धान गरी कानुनअनुसार सजाय हुने प्रहरी निरीक्षक झलकप्रसाद शर्माले बताए ।

कार्तिक १९, २०८२

वीरेन्द्र केसी

Three youths arrested on charges of arson and vandalism of Chief Minister's house

अर्घाखाँची — लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको घरमा आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले सन्धिखर्कबाट तीन जना युवालाई पक्राउ गरेको छ ।

भूमिकास्थान नगरपालिका–१ घर भई हाल सन्धिखर्क नगरपालिका–२ घोचेखोला बस्ने गुरुदेव खनाल, सन्धिखर्क नगरपालिका–२ भक्तिटोलाका पुष्कर पौडेल र सोही वडाको कुर बस्ने चूरामणि ढुंगाना बुधबार पक्राउ परेका हुन् । 

अर्घाखाँची जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । उनीहरूलाई आपराधिक उपद्रवसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरिएको र थप अनुसन्धान गरी कानुनअनुसार सजाय हुने प्रहरी निरीक्षक झलकप्रसाद शर्माले बताए ।  

भदौ २४ को जेन–जी प्रदर्शनका क्रममा सन्धिखर्क हटारीस्थित मुख्यमन्त्री आचार्यको घरमा तोडफोड र आगजनी भएको थियो । घर आगजनी र तोडफोड गरेको भन्दै मुख्यमन्त्री आचार्यकी श्रीमती दीपा आचार्यले असोज अन्तिमतिर खनाल, पौडेल र ढुंगानासहित ११ जनाविरुद्ध अर्घाखाँची जिल्ला अदालतमा जाहेरी दिएकी थिइन् ।

आचार्यले सन्धिखर्क नगरपालिका–२ स्थित घोचेखोलाका माधव भण्डारी, कुर बेहोरेका मदन परियार, पुल्चोकका विनोद मगर, सन्धिखर्कस्थित पश्चिमाञ्चल बस समितिको काउन्टरमा कार्यरत कमल घिमिरे, सन्धिखर्क नगरपालिका–१० धरमपानीका कुशल चुँदाली, सोही वडाका अर्जुन चुँदाली, सोही नगरको वडा ३ अलुवाखोलाका सुन्दर भारती र सन्धिखर्कका विशाल कँडेललाई घर तोडफोड र आगजनीमा संलग्न रहेको भन्दै अदालतमा जाहेरी दिएकी छन् ।

पक्राउ परेका खनाल, पौडेल र ढुंगानालाई मुख्य योजनाकार भन्दै आचार्यले जोहेरीमा उल्लेख गरेकी थिइन् । बाँकी आठ जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

जोहरीमा घर तोडफोड र आगलागी हुँदा घरभित्रको सामान जलेर नष्ट हुँदा ३५ लाख ५३ हजार र भौतिक संरचना बस्न नमिल्ने गरी ६० लाख रुपैयाँ क्षति भएको उल्लेख छ । जेन–जी प्रदर्शनका क्रममा भदौ २४ गते मुख्यमन्त्रीको घरसहित अर्घाखाँचीमा कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय जनमोर्चाका पार्टी कार्यालयमा तोडफोड र आगजनी गरिएको थियो । 

वीरेन्द्र केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully