ग्रामीण भेगमा आँखाको उपचार समयमा नै नगराउँदा मोतियाबिन्दुका बिरामी बढेपछि गाउँ गाउँमा आँखा परीक्षण शिविर आयोजना गरेर समस्या भएका बिरामीको नि:शुल्क शल्यक्रिया र उपचार गरिएको हो ।
नवलपुर — रोटरी क्लब अफ कावासोतीको आयोजनामा पूर्वी नवलपरासीमा २ सय ४२ जनाको नि:शुल्क मोतियाबिन्दु बिरामीको शल्यक्रिया गरिएको छ ।
ग्रामीण भेगमा आँखाको उपचार समयमा नै नगराउँदा मोतियाबिन्दुका बिरामी बढेपछि गाउँ गाउँमा आँखा परीक्षण शिविर आयोजना गरेर समस्या भएका बिरामीको नि:शुल्क शल्यक्रिया र उपचार गरिएको हो । कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिकाको साझेदारीमा २ हजार ५ सय जनाको आँखा परीक्षण गर्दा २ सय ४२ जनामा मोतियाबिन्दुको समस्या देखापरेको रोटरी क्लब अफ कावासोतीका अध्यक्ष नारायण न्यौपानेले बताए ।
तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा मध्यबिन्दु प्रादेशिक अस्पतालमा शल्यक्रिया गरिएको हो । शल्यक्रिया गर्नुपर्ने ८० जना बिरामीमध्ये ८० जनाको उच्च रक्तचाप र मधुमेह रोगको कारण अहिले शल्यक्रिया हुन नसकेको र सात जना बिरामीलाई थप उपचारको लागि तिलगंगा आँखा प्रतिष्ठानमा पठाइएको छ ।
तिलगंगा आँखा प्रतिष्ठानका डा. विवेक विष्टको टोलीले शिविरमा मोतियाबिन्दुको शल्यक्रिया गरेको थियो । रोटरी क्लब अफ कावासोतीले छ वर्षदेखि आँखाको शिविर सञ्चालन गर्दै आएको छ ।
अहिलेसम्म २५ हजार जनाको आँखा परीक्षण गरिएको र त्यसमध्ये ३ हजार जनाको मोतियाबिन्दुको नि:शुल्क शल्यक्रिया गरिएको क्लबका संस्थापक अध्यक्ष भरत शर्मा पोखरेलले बताए । क्लबले सञ्चालन गरेको शिविरमा पुरुषको तुलनामा महिलामा मोतियाबिन्दुको समस्या बढी देखिएको छ ।
