सतियामाई मेलामा श्रद्धालुको ओइरो

एकादशीदेखि कात्तिक पूर्णिमासम्म चल्ने मेलामा भाकल गरेको कुरा सतियामाईले पूरा गर्ने विश्वासका कारण श्रद्धालु ओइरिने गरेको आयोजकले बताए ।

कार्तिक १९, २०८२

दीपेन्द्र बडुवाल

Devotees flock to Satiyamai Mela

भैरहवा — रुपन्देहीको ओमसतिया–५, गौरीमा एकादेशीबाट लागिरहेको सतियामाई (सिलौंटिया) मेलामा श्रद्धालुको ओइरो छ ।

मेलास्थलमै रात बिताउनेगरी नेपाल र भारतका विभिन्न स्थानबाट भक्तजन आएका छन् । परम्परादेखि सञ्चालन हुँदै आएको मेला अवलोकनका लागि बुधबार जिल्लाभरबाट सर्वसाधरण आएका थिए । 

एकादशीदेखि कात्तिक पूर्णिमासम्म चल्ने मेलामा भाकल गरेको कुरा सतियामाईले पूरा गर्ने विश्वासका कारण श्रद्धालु ओइरिने गरेको आयोजकले बताए । सतियामाई मेलाको बुधबार मुख्यदिन भएकाले मेला भर्ने सर्वसाधरणको घुइँचो थियो । 

बुधबार बिहानैदेखि सर्वसाधरण आफ्ना लालाबालासहित मेलास्थल पुगेका थिए । रोहिणी किनारको सतियामाई मन्दिर आसपासको मैदानमा मेला सञ्चालन गरिएको छ । सञ्चालनका लागि मेला व्यवस्थापन समिति गठन गरिएको छ । समिति र वडा कार्यालयले मेला व्यवस्थापनमा भूमिका खेलिरहेको व्यवस्थापन समिति अध्यक्ष देवानन्द चौधरीले बताए । मेलामा सहभागी व्यापारी, साधुसन्त र भक्तजनका लागि साँझ–बिहान भण्डारा सञ्चालन गरिएको जनाए ।

दर्शनार्थीको भीड थेग्न समस्या हुने भएकाले रोहिणी पुलबाट सर्वसाधरणलाई ओहोरदोहोरमा रोक लगाइएको थियो । नदी पार गर्न झुलुंगे पुलमुनी अस्थायी कज–वे निर्माण गरिएको छ । बगैंचाभित्र सञ्चालन गरिएको मेलामा घरायसी आवश्यकताका सामानसँगै भाँडाकुँडा, खेलौना, लत्ताकपडाका पसल छन् । मेलामा सबैभन्दा धेरै मिठाईका परिकार रहेका छन् । 

मन्दिर परिसरमा साधुसन्तले भजनकीर्तन गरिरहेका छन् । मन्दिरको उत्तरपट्टि चलिरहेको रामलीलामा भक्तजनको आकर्षण छ । सयौं वर्षअघिदेखि गाउँपालिकामा लाग्दै आएको मेलाको धार्मिक महत्व रहेको ओमसतिया–५, का वडाध्यक्ष मदनप्रसाद पोखरेलले जानकारी दिए ।

मेलामा बिहीबार बिहान ८ बजेदेखि कुस्ती आयोजना गरिने मेला व्यवस्थापन समितिले जनाएको छ । उक्त कुस्ती स्पर्धामा भारतका गोरखपुर, महाराजगन्ज र दिल्लीबाट समेत पहलमान बोलाएको पोखरेलले बताए ।

दीपेन्द्र

Link copied successfully