सिमेन्ट उद्योग खोल्न माग गर्दै विद्युत् कार्यालयमा मजदुरको धर्ना

घोराही सिमेन्ट उद्योगका ६ सय कामदार र कर्मचारी कामविहीन भएका छन् भने सोनापुर सिमेन्ट उद्योगले ३ सय ५० कर्मचारीलाई अर्को सूचना नभएसम्म काममा नआउन भनेको छ ।

कार्तिक १६, २०८२

दुर्गालाल केसी

Workers protest at electricity office demanding opening of cement industry

दाङ — विद्युत् लाइन काटिएपछि बन्द भएका घोराही र सोनापुर सिमेन्ट उद्योगका मजदुरले आइतबार नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रमा धर्ना दिएका छन् ।

'मजदुरको रोजगारी ग्यारेन्टी गर, बन्द उद्योग खुला गर' भन्ने नारा लगाउँदै उनीहरूले प्रदर्शन गरेका छन् । प्राधिकरणले कात्तिक ४ गते घोराही सिमेन्ट र कात्तिक ७ गते सोनापुर सिमेन्ट उद्योगको विद्युत् आपूर्ति बन्द गरेपछि दुवै उद्योग बन्द भएका छन् ।

घोराही सिमेन्ट उद्योगले दैनिक ३ हजार मेट्रिक टन क्लिंकर र आवश्यकताअनुसार सिमेन्ट उत्पादन गर्दै आएको थियो । उद्योग बन्द भएपछि ६ सय कामदार र कर्मचारी कामविहीन भएका छन् । 

सोनापुर सिमेन्ट उद्योगले दैनिक ३५ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको थियो । उद्योग बन्द भएपछि ३ सय ५० कर्मचारीलाई अर्को सूचना नभएसम्म काममा नआउन भनिएको छ ।

घोराही सिमेन्ट उद्योगको ५० करोड ८५ लाख र सोनापुर सिमेन्ट उद्योगको २४ करोड ३० लाख रुपैयाँ विद्युत् बक्यौता रहेको प्राधिकरणले जनाएको छ ।

दुर्गालाल केसी

Link copied successfully