सम्मेलनमा सात प्रदेशका संयोजकका साथै ४० बढी जिल्लाका जेनजीसहित ३ सय बढीको सहभागिता थियो ।
पाल्पा — केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तह हुँदै वडातहसम्म आफ्ना विचारलाई विस्तार गर्न पाल्पामा जेन–जी सम्मेलन सम्पन्न भएको छ । शनिबार सम्पन्न राष्ट्रिय सम्मेलनले बडापत्र २०२५ जारी गरेको छ ।
बडापत्र साझा प्रतिबद्धता भएकाले दण्डहीनताको अन्त्य गर्न, पारदर्शी, जवाफदेही र समावेशी शासन प्रणालीको निर्माण गर्न सहयोग पुग्ने बडापत्रमा उल्लेख छ । युवाको नेतृत्वमा शुद्ध राजनीतिलाई पुनःस्थापित गर्न, भ्रष्टाचारमुक्त समाज र जिम्मेवार राज्य संयन्त्रको आधार तयार गर्न, पूर्ण रूपमा अहिंसक तथा कानुनी राज्यको पालना गर्न सहयोग पुग्ने आयोजकले जनाए ।
सम्मेलनमा सात प्रदेशका संयोजकका साथै ४० बढी जिल्लाका जेनजीसहित ३ सय बढीको सहभागिता थियो । काठमाडौंबाहिर पहिलो पटक बृहत् जेनजी सम्मेलन गरिएको पाल्पाका जेन–जी अगुवा उमेश भण्डारीले बताए । काठमाडौंमै नेतृत्व गरिरहेकाहरूको समेत सहभागिता रहेको थियो भने आगामी दिनमा भ्रष्टाचार नियन्त्रण, सुशासनको पक्षमा काम गर्नका लागि बडापत्र जारी गरेको उनले बताए ।
काठमाडौंबाहिर छरिएर रहेका जेन–जीलाई एकजुट गराउन सम्मेलनले सहयोग पुगेको छ भने दृष्टि, उद्देश्य र मूल मान्यताहरू, अधिकार र जिम्मेवारी, जवाफदेहिता र अनुगमन संयन्त्रका विषयमा घोषणापत्रमा उल्लेख छ । पारदर्शिता र भ्रष्टाचार नियन्त्रण, युवा प्रतिबद्धतासमेत घोषणापत्रमा रहेको स्याङ्जाबाट सहभागी प्रवेश अर्यालले बताए ।
बडापत्रमा प्रत्येक निर्णय जनहितमा हुने र देशभरका युवालाई दण्डहीनताको अन्त्य, सुशासन, जवाफदेही राजनीति र भ्रष्टाचारविरुद्धको साझा अभियानमा संगठित गर्नु सम्मेलनको उपलब्धि हुने जेन–जीको अगुवाइ गरेको विज्ञान घिमिरेले बताए ।
रचनात्मक सहभागिता, समुदाय र राष्ट्रप्रतिको सेवा भावना, एकता र सहिष्णुता कायम राख्ने, उत्तरदायी नेतृत्व अभ्यास गर्ने विषय बडापत्रमा उल्लेख भएको पाल्पाका जेन–जी अगुवा सुशील बस्यालले बताए ।
अनुगमन प्रक्रियाअन्तर्गत बडापत्रमा वडा, पालिका तथा जिल्ला स्तरीय समीक्षा, प्रादेशिक तथा केन्द्र समितिसँगको समन्वय बडापत्रमा छ । सेवा प्रवाह तथा विकास निर्माणको कार्यमा अनुगमन तथा समन्वयअन्तर्गत नागरिक गुनासो प्रणाली, प्रत्यक्ष समन्वय, फोन, क्यूआर, गुनासो बक्स र अनलाइन फर्म राखिनेछ । यस्तै गोपनीयता र सुरक्षाको प्रत्याभूति ७ दिनभित्र समाधानको सुरुवात हुने बडापत्रमा उल्लेख छ ।
