नवलपरासीका दुईसहित ६ पालिकालाई  जापानी दमकल

जापान सरकारले जिल्लाका दुई पालिकासहित पाल्पाको तानसेन नगरपालिका, रैनादेवी छहरा गाउँपालिका, ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका र कपिलवस्तुको मायादेवी गाउँपालिकालाई नि:शुल्क दमकल प्रदान गरेको हो ।

कार्तिक १५, २०८२

नवीन पौडेल

Japanese fire engines to six municipalities, including two in Nawalparasi

परासी — जापान सरकारले पश्चिम नवलपरासीका दुईसहित मुलुकका ६  स्थानीय तहलाई दमकल उपलब्ध गराएको छ । पाल्पा, कपिलवस्तु र ओखलढुङ्गाका साथै परासीको सुनवल नगरपालिका र प्रतापपुर गाउँपालिकाले दमकल उपहार पाएका हुन् ।

युनाइटेड मिसन टू नेपालको पहलमा जापान सरकारले आगलागी बढी हुने र दमकल खरिद गर्न आवश्यक बजेट नभएका पालिकालाई दमकल सहयोग गरेको हो । 

जिल्लाको सुनवल नगरपालिकामा आगलागी हुँदा बर्दघाट र रामग्राम नगरपालिका र बाहिरी जिल्लाबाट समेत सहयोग माग्नुपर्ने अवस्था थियो । दमकल आएपछि नगरमा हुने आगलागीका घटनामा क्षति कम गर्न सकिने र यसले विपद् व्यवस्थापनमा सहयोग पुग्ने सुनवल नगरपालिका प्रमुख विमला अर्यालले बताइन् । ‘दमकल आउने प्रकृयामा थियो, पालिकामा रहेको सवारी निकै पुरानो हुँदा स्कार्पियो खरिदलाई लिएर केहीले आलोचनासमेत गरे,’ उनले भनिन्, ‘हामीले दमकल पनि ल्याउने वाचा गरेका थियौं , आज त्यो पूरा भयो ।’

यसै गरेर सुनवल सामुदायिक सिकाइ केन्द्र र जापान सरकारको पहलमा दमकल प्राप्त गरेकाले आगलागीको घटनामा समयमा नै नियन्त्रणमा लिन सहयोग पुग्ने अपेक्षा लिइएको छ । दमकल भएका स्थानीय तहबाट प्रतापपुर पालिका पुग्न धेरै समय लाग्ने हुँदा आगलागीका घटनामा क्षति बढी हुने गरेको थियो । 

दुई वर्ष पहिला नै आउनुपर्ने दमकल कागजी प्रकृयाको कारण ढिलो गरेर आएको हो । ५ हजार लिटर क्षमताको दमकललाई ३ लाख डलर बराबरको मूल्य परेको र जापान सरकारले निःशुल्क उपलब्ध गराएको हो । 

जापान सरकारले जिल्लाका दुई पालिकासहित पाल्पाको तानसेन नगरपालिका, रैनादेवी छहरा गाउँपालिका, ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका र कपिलवस्तुको मायादेवी गाउँपालिकालाई नि:शुल्क दमकल प्रदान गरेको हो ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully