जनमतकी प्रदेशसभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएपछि रिक्त पदमा निर्वाचन आयोगले पासवानलाई नियुक्त गरेको थियो ।
बुटवल — लुम्बिनी प्रदेशसभामा रिक्त सदस्य पदमा निलम पासवानले शपथ ग्रहण गरेकी छन् । उनले लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगर समक्ष प्रदेश सभा सदस्य पदको सपथग्रहण गरेकी हुन् ।
जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएपछि रिक्त पदमा निर्वाचन आयोगले पासवानलाई नियुक्त गरेको थियो । पासवानको नाम जनमत पार्टीको समानुपातिक सूचीतर्फको बन्दसूची ४ को दलित क्लष्टरको पहिलो नम्बरमा थियो । यसअघि आदिवासी जनजाति क्लस्टरबाट प्रदेशसभा सदस्य बनेकी गुरुङले पदबाट राजीनामा दिएकी थिइन् ।
जनमत पार्टीले क्लष्टरअनुसार रिक्त पदमा सिफारिस गरेपछि निर्वाचन आयोगले पासवानलाई निर्वाचित गरेको हो । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ स्थायी बासिन्दा पासवान जनमत पार्टीकी कार्यकारणी सदस्यसमेत हुन् ।
पार्टीको सिफारिसमा निर्वाचन आयोगले रिक्त पदमा निर्वाचत गरेपछि लुम्बिनी प्रदेश सभाले पासवानलाई शुक्रवार सपथग्रहण गराएको जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकेश गुप्ताले बताए । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा जनमत पार्टीबाट तीन जना सदस्य छन् ।
