उद्योगीको आन्दोलनमा बोल्दाबोल्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको निधन

सिद्धार्थ उद्योग वाणिज्य संघको अगुवाइमा बन्द उद्योगका कर्मचारी, मजदुर, विभिन्न उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघका सदस्य सहभागी प्रदर्शनको अन्तिममा आफ्नो भनाइ राख्ने क्रममा गौतम ढलेका थिए ।

कार्तिक १३, २०८२

दीपेन्द्र बडुवाल

GEFONT Vice President Gautam, who died while speaking out during the industrialists' protest, passes away

भैरहवा — विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइन बापतको बक्यौता महसुल नतिरेको भन्दै लाइन काटेको विरोधमा बिहीबार रुपन्देहीका उद्योगी, व्यवसायी र श्रमिकले आह्वान गरेको प्रदर्शनमा बोल्दाबोल्दै ढलेका जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको दिउँसो निधन भएको छ । 

सिद्धार्थ उद्योग वाणिज्य संघको अगुवाइमा बन्द उद्योगका कर्मचारी, मजदुर, विभिन्न उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघका सदस्य सहभागी प्रदर्शनको अन्तिममा आफ्नो भनाइ राख्ने क्रममा गौतम ढलेका थिए । उद्योगी र मजदुरका पक्षमा भनाइ राख्ने क्रममा बोली शिथिल हुँदै गएपछि एक्कासि ढलेका थिए । उनलाई प्रदर्शनमा सहभागीले उपचारका लागि तत्काल मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याएका थिए । त्यहाँ उपचारका क्रममा मृत्यु भएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले पुष्टि गरे । एमाले जिल्ला अध्यक्ष यज्ञ गैरेले पनि उपचारका क्रममा गौतमको निधन भएको बताए । 

विद्युत् प्राधिकरणले लाइन काटेपछि रुपन्देहीका डेढ दर्जन उद्योग बन्द भएको र श्रमिक बेरोजगार बनेको भन्दै गौतम एक सातादेखि उद्योग सञ्चालन गर्नुपर्ने पक्षमा दौडधुपमा थिए । सिद्धार्थ उद्योग वाणिज्य संघमा बुधबार भएको संयुक्त छलफलमा गौतमले श्रमिक सहभागितामा आन्दोलनमा जानुपर्ने राय व्यक्त गरेका थिए । बिहीबार उनी श्रमिकको अगुवाइ गर्दै प्रदर्शनमा सहभागी हुन आएका थिए । उनी बुटवल उपमहानगरपालिका–४, बुटवलका बासिन्दा हुन् । 

दीपेन्द्र

Link copied successfully