रैनादेवी छहरा–४ मा सडकबाट झन्डै २०० मिटर तल खोल्सामा खसेको ईभी गाडीमा चालकसमेत तीन जना रहेको पुष्टि भएको छ ।
पाल्पा — पाल्पाको छहरामा बुधबार भएको ईभी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ईभीका चालक ३१ वर्षीय कमल रायमाझीको निधन भएको छ भने अन्य दुई जनाको पहिचान खुलेको छैन । घटनास्थलमा प्रहरी भर्खर पुगेको छ । चालक रायमाझी रैनादेवी छहरा–४, अमलावासका हुन् ।
लुम्बिनी प्रदेश ०१–००१ ज ००९१ नम्बरको दुर्घटनाग्रस्त ईभी गाडीमा चालकसमेत तीन जना रहेको छहराका स्थानीयले जानकारी दिएका छन् । बुटवलबाट पाल्पा सदरमुकाम तानसेन हुँदै रैनादेवी छहराको मेहलढापतर्फ जाने क्रममा ईभी गाडी रैनादेवी छहरा–४, छहरा बोखर नजिकै भन्ज्याङमा दुर्घटनामा परेको रैनादेवी छहरा गाउँपालिकाका कार्यपालिका सदस्य महेश बरालले जानकारी दिए । उनका अनुसार दुर्घटनाग्रस्त ईभी सडकदेखि झन्डै २०० मिटर तल खोल्सामा पुगेको छ ।
स्थानीय होटल व्यवसायीका अनुसार करिब साढे ११ बजे छहराबाट हिँडेको ईभी धेरै समयसम्म मेहलढाप नपुगेपछि खोजीकार्य भएको थियो । खोजी गर्दै जाँदा दुर्घटनामा परेको जानकारी साढे एक बजे तिर इलाका प्रहरी कार्यालय मुझुङ्ले पाएको हो ।
‘२० मिनेटमा मेहलढाप पुग्नुपर्ने ईभी दुई घण्टामा नपुगेपछि खोजी गरिएको थियो,’ स्थानीय बरालले भने, ‘त्यसपछि मात्र गाडीको खोजी कार्य गरिएको हो ।’
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार इलाका प्रहरी कार्यालय मुझुङ्को प्रहरी टोली पुगेर उद्धार गरी अस्पताल पठाएको छ । प्रहरीले घटनास्थलमा पुगेर दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ ।
