धान स्याहार्ने तयारी गरेका पाल्पाका किसान बेमौसमी वर्षाले चिन्तित

तिहारलगत्तै खेतमा पाकेको धान स्याहार्ने चटारोमा रहेका किसानलाई मंगलबारदेखि सुरु वर्षाले चिन्तित तुल्याएको हो ।

कार्तिक १२, २०८२

माधव अर्याल

Palpa farmers preparing to cultivate rice worried by unseasonal rains

What you should know

पाल्पा — धान स्याहार्ने तयारी गरेका पाल्पाका किसान बेमौसमी वर्षाले चिन्तित छन् । तिहारलगत्तै खेतमा पाकेको धान स्याहार्ने चटारोमा रहेका किसानलाई मंगलबारदेखि सुरु वर्षाले चिन्तित तुल्याएको हो ।

कतिपय किसानले तिहारको भोलिपल्टदेखि काटेको धान खेतमै डुब्ने अवस्था पुगेको तानसेन नगरपालिका–१४ अर्गलीका किसान रमेश न्यौपानेले बताए ।उनका अनुसार अर्गली क्षेत्रमा तिहारको भोलिपल्टदेखि नै किसानले धमाधम धान काटेका थिए । असारको सुरुमै रोपेका किसानको धान पाकेकाले काटेर खेतभरि थियो । धान काटेपछि धुम्म बनेको आकाशबाट पानी पर्ने डरकैबीच पानी पर्न थालेपछि किसान पीडित बनेको उनले बताए ।

अर्गली मात्र होइन, अन्नभण्डार माडी फाँटको अवस्था पनि उस्तै छ । कालीगण्डकी बेँसी, रामपुर, अरूणखोला, कचल, झडेवामा पनि धान काट्न सुरु भएको छ । अधिकांशको धान पाकेर पहेँलपुर भएको छ । मौसम प्रतिकूल भएका कारण नकाटेका धानलाई भने केही भए पनि राहत मिलेको बगनासकाली गाउँपालिका–१ चिर्तुङ्धाराका रेवतबहादुर झेडी मगरले बताए ।

Palpa farmers preparing to cultivate rice worried by unseasonal rainsधान पाकेकाले काट्न खेताला खोजे पनि मौसमका कारण पर्खिएर बसेकाले राहत पुगेको उनले बताए । काटिसकेका केही किसानको धान पानीले बिगारेको उनले बताए । काटिसकेको धान मात्र नभई पराललाई समेत असर गर्ने किसानले बताएका छन् । पानीका कारण किसान चपेटामा परेका छन् । कतिपय किसानले हतारहतारमा उठाउन खोजे पनि धान, पराल र व्यवस्थापनमा पानीले समस्या पारेको रामपुर नगरपालिका–६ का किसान रमेश घर्तिले बताए । पालिकाका कृषि शाखाका अनुसार समग्र धान उत्पादनलाई समेत अहिलेको वर्षाले असर गर्नेछ ।

सिँचाइ कुलो अभाव र पर्याप्त आकासे पानी नपर्दा समेत पाल्पामा यस वर्ष धान रोपाइँ कम भएको थियो । धान खेती हुने भूभागमध्ये ९४ प्रतिशतमा रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको हो । सिंचाइ कुलो नलाग्ने, चैते धान र मकै रहेका स्थानमा रोपाइँ हुन सकेको थिएन । यस वर्ष पाल्पाको अन्नभण्डार माडी, तिनाउको कचल, तानसेनको अर्गली, रम्भाको पीपलडाँडा, तिनाउको दोभान, माथागढीको झडेवा फाँटहरूमा धान खेती राम्रो भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

रामपुर नगरपालिकाको रामपुर, खालीवन, गेझा, दर्छाका विभिन्न भागमा पछि रोपेकाले धान काटिसकेका छैनन् । निस्दीका केही फाँट, रम्भाको हुँगी फाँटहरूमा धान काट्ने बेला भइसकेको छ ।

पाल्पामा आठ हजार दुई सय दश हेक्टर भूभागमा वर्षे धान खेती हुँदै आएको छ । यहाँ उन्नत र हाइब्रिड सावा, मनसुली, राधा, खुमल, बासमती, युएस–३१२, सावित्री जातको धान लगाउने गर्छन् । गत वर्ष ३६ हजार आठ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully