कालीगण्डकी नदीमा पौडी खेल्दा एक बेपत्ता, एकको उद्धार

राम्दीस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका शाहीको खोजी जारी छ भने बिराज न्यौपानेलाई प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका छन्।

कार्तिक १२, २०८२

माधव अर्याल

One person missing while swimming in Kaligandaki River, one rescued

पाल्पा — कालीगण्डकी नदीमा पौडी खेल्दा एक जना बेपत्ता भएका छन् भने एकको उद्धार गरिएको छ । पाल्पा र स्याङ्जाको सिमाना राम्दीमा बुधबार पौडी खेल्ने क्रममा कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका–१ का १५ वर्षीय बखन शाही बेपत्ता भएका हुन् ।

शाहीसँगै पौडी खेल्न गएका उनकै साथी १६ वर्षीय बिराज न्यौपानेलाई प्रहरी र स्थानीय बासिन्दाले सकुशल उद्धार गरेका छन् ।

स्थानीय गोविन्द श्रेष्ठले पौडी खेलेर न्यौपानेलाई जीवितै उद्धार गर्न सफल भएको राम्दी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक कमल प्रधानले बेपत्ता शाहीको स्थानीय बासिन्दा, पाल्पा र स्याङ्जाका प्रहरीले खोजतलास गरिरहेको बताएका छन् ।

साथीहरूसँग घुम्न आएका र राम्दीस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा घटना भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धानसमेत भइरहेको प्रहरीले जनाएको छ ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully