गच्छे–भालुवाङ सडक खण्डमै पर्ने भएकाले पर्यटकलाई सहज छ । सदरमुकाम सन्धिखर्कबाट झरना १५ किमिको दूरीमा छ ।
What you should know
अर्घाखाँची — जमिनभन्दा ५५ मिटरमाथि छाँगोबाट छङछङ खसेको झरना पर्यटकका लागि रमाइलो गन्तव्य बनेको छ । अग्लो पहाड, वरिपरि हरियाली मनोरम दृश्यसहितको जंगल, चिसो हावापानी र बीचमा भीरबाट झरेको पानीको फोहराले पछिल्लो समय आन्तरिक पर्यटकलाई यहाा आकर्षित गरेको हो ।
भूमिकास्थान नगरपालिका–९ र १० को बीचमा रहेको मृगस्थली झरनालाई संघीय सरकारको ५८ लाख रुपैयाँको बजेटमा संरचना निर्माण भएपछि यो पर्यटकीय गन्तव्य बन्दै गएको छ । यहाँ टाढाटाढाबाट गाडी रिर्जव गरेरै घुम्न आउँछन् । पदमार्ग र अन्य संरचना निर्माण गरेपछि पर्यटकलाई सहज भएको छ ।
सन्धिखर्कबाट झरना हेर्न पुगेका स्वास्थ्यकर्मी अशोक चौहानले करिब दुई घण्टा समय बिताए । ‘यहाँ चिसो पानी र आनन्दको ठाउँ रहेछ,’ उनले भने, ‘चारैतिरको हरियाली मनोरम दृश्यले मोहित बनायो । झरना जति हेर्यो, त्यति नै रमाइलो लाग्यो ।’ सिढीमा ओहोरदोहोर गरेर फोटो, भिडियो खिचे । फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा थुप्रै तस्बिर र भिडियो पोस्ट गरे । ‘यहाँ त रिफ्रेस हुने गन्तव्य रहेछ,’ उनले भने, ‘झरनामा बस्दा छुट्टै आनन्द लाग्यो ।’
अग्लो छाँगोबाट धूवाँजस्तै पानीको फोहरा खस्दा झरनाको अनुपम र मनोरम सुन्दर दृश्य देखेर अचम्मित मान्छन् । यही झरनाबाट मृग लडेर मरेकाले यसको नाम मृगस्थली झरना राखिएको स्थानीय बताउँछन् ।
वडा ९ का वडाध्यक्ष खेमराज चुँदालीले चाडपर्वमा यहाँ पर्यटकको ताँती नै लागेको बताए । दैनिक ८ देखि १२ सय जनाले झरनाको अवलोकन गरिरहेको उनले बताए । झरनामा घुमेपछि केही पर्यटक वडा १० को धनचौरको सेङलेङ दहमा पनि पुग्ने गर्छन् ।
दह आसपास क्षेत्रमा चिसो मौसम र अग्लो ठाउँबाट चारैतिरको दृश्य देखिने भएकाले घुम्न मन पराउने उनले बताए । चिसो ठाउँमा उत्पादन भएको खाजा, खानेकुरा खान पर्यटक मन पराउँछन् । पर्यटकलाई लक्षित गर्दै धनचौरमा नगरपालिकाले आठवटा होमस्टे पनि संचालनमा ल्याएको छ । होमस्टे निर्माण भएका घरधनीलाई नगरपालिकाले होमस्टेसम्बन्धी तालिम पनि दिएको छ ।
‘झरनामा अझै थप पर्यटकीय संरचना निर्माण गर्ने लक्ष्य छ,’ भूमिकास्थान नगरपालिका प्रमुख झविलाल थापाले भने, ‘झरनामा पर्यटकलाई घुमाउने र धनचौरको सेङलेङ दहमा लगेर खाजा, खानासहित आवासीय व्यवस्था गरेका छौं । प्राकृतिक दृश्य अवलोकन गर्न यो क्षेत्र राम्रो गन्तव्य बन्दैछ ।’ धनचौरस्थित वनमा चिया खेती पनि गरिएको छ ।
गच्छे–भालुवाङ सडक खण्डमै पर्ने भएकाले पर्यटकलाई सहज छ । सदरमुकाम सन्धिखर्कबाट झरना १५ किमिको दूरीमा छ । जिल्लामा आएका कर्मचारी, पर्यटक पनि मृगस्थली झरनामा पुग्छन् ।
