शनिबार दिवंगत भएकी मुमाबडामहारानीका छोरा वजिरालोङकोर्न अहिले थाइल्याण्डका राजा छन् ।
लुम्बिनी — थाइल्याण्डका राजा वजिरालोङकोर्नकी आमा सिरकितको ९३ वर्षको उमेरमा निधन भएपछि उनको स्मृतिमा लुम्बिनीमा पुण्यानुमोदन पाठ गरिएको छ ।
लुम्बिनीस्थित राजकीय थाई बिहारद्वारा सोमबार आयोजित कार्यक्रममा मरणानुस्मृति पाठ गरिएको हो ।
लुम्बिनीका विभिन्न विहार गुम्बाका भिक्षु, भिक्षुणी, आनी, गुरुमा र लामा गुरुले बौद्ध परम्पराअनुसार पाठ गरेका हुन् । उक्त अवसरमा नेपाल–भारत थाई धम्मदूत भिक्षु एसोसिएसनका उपाध्यक्ष फ्रा राजबोधी विदेश बजिराबुद्धीले मृत आत्माको चिरशान्तिका लागि दीप प्रज्ज्वलन गर्दै थाई जनातका लागि दिवंगत मुमाबडामहारानीले गरेको काम र योगदानको जति प्रशंसा गरे पनि कम हुने बताए ।
शनिबार दिवंगत भएकी मुमाबडामहारानीका छोरा वजिरालोङकोर्न अहिले थाइल्याण्डका राजा छन् ।
थाइल्याण्डका ग्रामीण गरिब, परम्परागत शिल्पकलाको संरक्षण र वातावरण संरक्षणका क्षेत्रमा शाही परियोजनामार्फत दिवंगत मुमाबडामहारानीले ठूलो योगदान गरेकी थिइन् । उनलाई सन् २०१२ मा स्ट्रोक भएपछि उनको स्वास्थ्य खस्कँदै गएको थियो । उनका श्रीमान् राजा भूमिबोल अदुल्यादेजको सन् २०१६ अक्टुबरमा निधन भएको थियो ।
