दोस्रो ठेक्काको भौतिक प्रगति ४८ प्रतिशत, चैतसम्म सम्पन्न हुने सडक कार्यालयको दाबी
What you should know
बुटवल — बुटवलको मुख्य सहरलाई नै प्रदूषित बनाइरहेको बुटवलको चौराहादेखि गोलपार्क चिडियाखोलासम्मको साढे तीन किलोमिटर सडकको पुनः म्याद थप्ने तयारी भएको छ । पहिलो ठेक्का तोडेर दोस्रो पटकको टेन्डरबाट पनि सम्झौता अनुसार समयमै काम नसकिएपछि सडक विस्तारको कामको आगामी चैतसम्म म्याद थप्न लागिएको हो ।
बुटवलको चौराहादेखि चिडियाखोला सम्मको साढे ३ किलोमिटर सडकको विस्तार कार्य २०७३ चैत १७ गतेबाट सुरु भएको हो । सुरु ठेक्कामा द कञ्चनजंघा विरुवा जेभीले २०७६ असोज मसान्तमा काम सम्पन्न गर्ने गरी ५३ करोड ९७ लाख ९९ हजारमा सरकारसँग सम्झौता गरेको थियो । पाँच पटक म्याद थप गर्दा पनि सडक विस्तारको काम अलपत्र परेपछि सरकारले पहिलो ठेक्का २०८० बैशाखमा तोडेको थियो ।
पहिलो ठेक्का तोडेपछि सरकारले दोस्रो ठेक्का आह्वान गर्दै बाबुल दर्शन मालिका जेभीसँग २०८२ असोज १८ गतेभित्र काम सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । भ्याटसहित ३३ करोडमा ठेक्का सम्झौता भए पनि तोकिएको समयसम्म ४८ प्रतिशत मात्र भौतिक प्रगति भएपछि २०८२ चैतसम्म काम सम्पन्न गर्ने गरी सडक विस्तारको म्याद थप गर्न लागिएको सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी तथा इन्जिनियर महेश्वर लम्सालले बताए ।
‘हामीले एक वर्षभित्र काम सम्पन्न गर्ने गरी २०८१ असोज १८ गते ठेक्का सम्झौता गरेका थियौं, विस्तारको काम सुस्त गतिमै भएको भए पनि सम्झौता गरेका निर्माण व्यवसायी बाबुल खानको निधन भएपछि केही विस्तारको काममा ढिलाइ भएको हो,’ उनले भने, ‘निर्माण व्यवसायीका प्रतिनिधि छोरा ट्राफिक खान र नासिफ खानले ६ महिनामा काम सक्ने प्रतिबद्धता जनाएपछि चैतसम्म म्याद थप गर्ने गरी प्रक्रिया अघि बढाएका छौं ।’ म्याद थपसँगै तिहारलगत्तै काम सुरु हुने उनले बताए ।
बुटवल बजारको मध्य भागमा रहेको चौराहा–चिडियाखोला सडक खण्ड ९ वर्षदेखि अलपत्र पर्दा सडक किनारका व्यवसायी र पैदल यात्रु समस्यामा पर्ने गरेका छन् । निर्माण सामग्री सडक किनारमा छोड्दा दुर्घटना पनि बढेका छन् । सडक डिभिजन कार्यालयका अनुसार चौराहादेखि चिडियाखोलासम्मको भाग बुटवलको मध्य बजार क्षेत्र र लुम्बिनी प्रादेशिकसहित विभिन्न स्वास्थ्य संस्थाहरू रहेको मुख्य क्षेत्र भएकाले त्यसलाई नाली, तीन मिटर चौडाइको फुटपाथ, सर्भिस लेनसहित विस्तार गर्न लागिएको छ ।
साढे ३ किलोमिटर खण्डमै सर्भिस लेन रहने र उक्त सर्भिस लेन सात मिटर, ग्रीनबेल्ट र नाइट स्टल साढे दुई मिटर र मुख्य लेन साढे १० मिटरको हुने गरी निर्माण भइरहेको छ । तीमध्ये नाली निर्माण र फुटपाथ निर्माणको काम ६० प्रतिशतभन्दा बढी सकिएको सूचना अधिकारी लम्सालले बताए । ‘अब सर्भिस लेन, ग्रीनबेल्ट र नाइट स्टल निर्माणको काम केही दिनमै सुरु गराउने प्रयासमा छौं,’ उनले भने, ‘म्याद थपको फाइल आएपछि निर्माण व्यवसायीलाई ताकेता गर्ने काम सुरु हुन्छ ।’ सडक विस्तारमा अहिलेसम्म ४५ प्रतिशत भौतिक प्रगति भएको उनले बताए ।
